
सिनेमा संसार
काठमाडौं
भ्यालेन्टाइन डेको अवसरमा भोलि शुक्रवार दर्शकलाई विशेष उपहारको रुपमा सन् २०१९ मा हलमा प्रदर्शनमा आएको बुलबुल सिनेमा पुनः उपलब्ध हुनेछ, र यो विशेष अनुभव अब एमएसएम एपमार्फत मोबाइल, टिभी, र विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध हुने भएको छ।
सिनेमा निर्माता अविरल थापाका अनुसार, यो सिनेमाको पुनः प्रदर्शनको निर्णय देशभित्र र विदेशमा रहेका दर्शकको अत्यधिक मागको आधारमा गरिएको हो। ‘हामीले दर्शकको चाहनालाई सम्मान गर्दै, यसलाई डिजिटल प्लेटफर्ममा उपलब्ध गराउँदैछौं, जसले गर्दा दर्शकले आफ्नो सुविधाअनुसार सिनेमा हेर्न सक्नेछन्’ उनले भने।
स्वस्तिमा खड्काको उत्कृष्ट अभिनयले यस सिनेमालाई ठूलो सफलता दिलाएको थियो। उनी यही सिनेमाबाट सार्क सिनेमा फेस्टिभल र अन्य प्रमुख महोत्सवमा पुरस्कृत भएकी थिइन् भने राष्ट्रिय सिनेमा पुरस्कार पनि प्राप्त गरेकी थिइन्। निर्देशक विनोद पौडेलले पनि यस सिनेमाको लागि उत्कृष्ट निर्देशनको पुरस्कार चुमेका थिए। सिनेमाले नेपालबाट ९२औं अस्कर सिनेमा अवार्ड मा पनि प्रतिनिधित्व गरेको थियो।
सिनेमामा मुकुन भुषाल, लक्ष्मी बर्देवा, र दीपक क्षेत्रीको पनि प्रमुख भूमिका रहेको छ। मुकुन भुषालले यस सिनेमाबाट आफ्नो फिचर सिनेमामा डेब्यू गरेका थिए।
सिनेमाको सफलता र यसका पुरस्कारलाई ध्यानमा राख्दै, यसै टिमले अर्को रोमाञ्चक परियोजना, भूठान, २०८२ वैशाख १२ मा प्रदर्शन गर्ने तयारी गरिरहेको छ।