NEWS

जाइरा हेर्न सेलिब्रेटीको सिफारिश

सिनेमा संसार संवाददाता
काठमाडौं
शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन लभस्टोरी सिनेमा जाइरा हेरेपछि सेलिब्रेटीहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन्। आशुतोषराज श्रेष्ठ निर्देशित सिनेमाको मंगलबार साँझ राजधानीको कुमारी हलमा सेलिब्रेटी शो आयोजना गरिएको थियो।
सिनेमा हेर्न पुगेका सबैले अभिनेत्री नम्रता श्रेष्ठको अभिनय र मार्शल आर्ट खेलाडी बन्न गरेको मेहनतको प्रशंसा गरे। अभिनेता भुवन केसीले सिनेमाले उठाएको विषयवस्तु फरक रहेको बताए। उनले भने, ‘नम्रताले निकै फरक भूमिका गरेकी छिन् र निकै मेहनत पनि गरेकी छन्। अरु कलाकारले पनि राम्रो काम गरेका छन्। नेगेटिभ भूमिकामा अभिनय गर्नुभएको श्रृजना रेग्मीको काम सबैभन्दा उत्कृष्ट लाग्यो।’ दर्शकलाई एकपटक फिल्म हेर्न आग्रह गर्दै उनले फरकपन आभास गर्न पाइने बताए।
अभिनेत्री गौरी मल्लले पनि अभिनेता भुवनकै कुरामा सहमति जनाइन्। ‘मलाई रिङको फाइट मन प¥यो, बुलेट र जाइराको। सिनेमा एकदमै राम्रो लाग्यो। नम्रताले गरेको मेहनत पर्दामा देखिन्छ। प्रमोद अग्रहरीको काम पनि उत्कृष्ट छ’, उनले भनिन्। अभिनेत्री रेखा थापाले पनि नम्रताको मेहनतको प्रशंसा गरिन्। उनले नेगेटिभ रोल गर्ने श्रृजना रेग्मीको काम पनि मन परेको बताइन्।
सुनिल थापा पनि अभिनेत्री नम्रताको मेहनतको प्रशंसा गरेर थाकेनन्। नेपालमा जाइराजस्तो सिनेमा बन्नु ठूलो हिम्मतको काम रहेको चर्चा गर्दै उनले भने, ‘स्पोर्टस् लभर दर्शकले फिल्म नछुटाउँदा राम्रो हुन्छ। पर्दामा नम्रतालाई हेर्दा रियल फाइटर महशुस हुन्छ। बुलेटको भूमिका गर्ने श्रृजनाको काम पनि गजब लाग्यो’, उनले भने।

अभिनेत्री केकी अधिकारीले सिनेमा निकै फरक लागेको बताइन्। नम्रताको मेहनतको प्रशंसा गर्दै उनले भनिन् ‘हामीहरु यस्तो फिल्म बनाउनुपर्छ भनेर सोच्छौं मात्र ,तर उहाँहरुले बनाएरै देखाउनुभयो। कल्पनामा मात्र हुने चिज देख्न पाइयो। फिल्म एकदमै राम्रो छ। मेरो दिमागमा अझै पनि क्लाइमेक्स सिन बसिरहेको छ। श्रृजना, प्रमोद, अनुप सबैको काम उम्दा छ।’ अर्की अभिनेत्री रिमा विश्वकर्माले पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिइन्। निर्देशक विशाल भण्डारीले सिनेमाको एक्सन सिक्वेन्स उत्कृष्ट रहेको जनाउँदै नम्रताको मेहनत प्रशंसायोग्य रहेको बताए। हास्यकलाकार सन्दिप क्षेत्री पनि नम्रताको प्रशंसा गरेर थाकेनन्। ‘सिनेमामा नम्रताको मेहनत देखिएको छ। अभिनय पनि मन छुने छ। सिनेमाको एक्सन सिक्वेन्स गजब छ’, उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button