MUSICNEWS

राष्ट्रिय भावका गीतमा गुन्जिए गायक खड्का

सिनेमा संसार संवाददाता
काठमाडौं
गायक सुमित खड्का राष्ट्रिय भावका गीतहरुसँगै एकल साँझमा गुन्जिएका छन्। शुभकामना मिडिया शोलुसनको आयोजना एवं म्यूजिक खबर र यूनिभर्सल पिस फेडरेशनको सहकार्यमा राजधानीमा सम्पन्न सुमित खड्का देशको आवाज कार्यक्रममा राष्ट्रिय भावका १५ गीतसँगै खड्काले नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय गुन्जयमान बनाएका थिए।
९ जना बाद्यवादकको समूहसँगै देशप्रेमको गीतहरु गाउँदै गर्दा गायक खड्कालाई महिला स्वरमा गायिका प्राश्ना शाक्यले साथ दिएकी थिइन्। कोरस गायनमा भने कृष्णा खनाल, सदिक्षा कट्टेल, अनुमा चौधरी, अस्मिता ढकालले साथ दिएका थिए।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, कानूनमन्त्री भानुभक्त ढकाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति नारायणभक्त श्रेष्ठ (रायन), सांसद खेम नेपाली, नवराज सिलवाल, पूर्व मन्त्री तथा गीतकार एसपी कोइराला, पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, पूर्व मन्त्री भगवती चौधरी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालगायतको शुभकामना मन्तव्यसँगै कार्यक्रम औपचारिक सुरु भएको थियो ।
कार्यक्रमको सुरुवातमा देशको आवाज भाग १ र २ एल्बमको विमोचन गरिएको थियो । ९ जना गीतकारहरुको १० गीत समावेश रहेको एल्बम गीतकारहरुबाट नै सामूहिक सार्वजनिक गरिएको थियो। कार्यक्रमसंचारकर्मी नरेश भट्टराईले संचालन गरेका थिए।
कार्यक्रममा आयोजकका तर्फबाट शुभकामना मिडिया सोलुशनका अध्यक्ष सुमन बैरागीले स्वागत मन्तव्य राख्दै नेपाली संगीत इतिहासमा सम्भवतः यो नै पहिलो देशभक्ति गीतहरुको एकल साँझ भएको बताएका थिए।

कार्यक्रममा गायक खड्काकै स्वरमा रहेका गीतहरुमा डान्स फिवरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा गायक खड्काले हिमाल पहाड तराई, कर्म गर्न कहिल्यै पछि पर्नु हुँदैन, मेरी आफ्नी आमा भन्दा, मेरो देश सुन्दर छ है, म जहाँ जाउँ विश्वका कुना, हिमालको पानीले सिंचिनु छ तराई, हिजोभन्दा आज राम्रो, जाँगरिला युवा हामी लगायतका १५ गीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा बाँसुरीमा बलराम समाल, तबलामा प्रमोद उपाध्याय, बेस गिटारमा सुमन श्रेष्ठ, लिड गिटारमा दिपेन थापा, किबोर्डमा प्रविन खड्का र राहुल भुजेल, ड्रममा विवेक राई, रिदम गिटारमा सुजित शाह, अक्टोप्याडमा साजन शाह रहेका थिए।

Related Articles

Check Also
Close
Back to top button