CINEMANEWS

हङकङमा पल शाहसहित आबाट आमा २ टिमको भव्य सम्मान

सिनेमा संसार
काठमाडौं
बडादशैँको अवसर पारेर असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको आबाट आमा २ को हङकङ सेड्युलका क्रममा मुख्य टिमलाई सम्मान गरिएको छ। हङकङमा सक्रिय खुसी इभेन्टस्को आयोजनामा भएको मिट एन्ड ग्रीट समारोहमा निर्देशक चन्द्र पन्त, मुख्य अभिनेता पल शाह र अभिनेत्री रिश्ता गुरुङलाई सम्मान गरिएको हो।
गुरुङ संस्कृति तथा परम्पराअनुसार आयोजित कार्यक्रममा अतिथिहरूलाई फेटा गुथाएर खादा, पुष्पगुच्छा तथा मायाको चिनोस्वरूप सम्मानपत्र प्रदान गरिएको थियो। हङकङमा सिनेमाको सम्पूर्ण छायांकन व्यवस्थापन तथा लाइन प्रोडक्सनको जिम्मेवारी सम्हालिरहेको खुसी इभेन्टस्का निर्देशक खुसी गुरुङले नेपाली सिनेमाका स्थापित निर्देशक तथा कलाकारलाई स्वागत र सम्मान गर्न पाउँदा गर्व लागेको बताए। उनले आगामी दिनमा प्रवासमा हुने नेपाली सिनेमाका छायांकन तथा अन्तर्राष्ट्रिय शोमा निरन्तर सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
सम्मान ग्रहण गर्दै अभिनेता पल शाहले प्रवासमा रहेर पनि नेपाली सिनेमा, भाषा र मौलिक संस्कृतिप्रति देखाइएको माया तथा समर्पणले आफूलाई भावुक र उत्साहित बनाएको बताए। हङकङमा आफ्ना सिनेमा दर्शकले ऊर्जाका साथ हेर्ने गरेको उल्लेख गर्दै उनले त्यहाँका दर्शकको आत्मीय साथले अभिनय यात्रामा अझ राम्रो काम गर्न प्रेरणा मिलेको बताए।
निर्देशक चन्द्र पन्तले व्यस्त छायांकन तालिकाका बीच हङकङमा प्राप्त आत्मीय सम्मानप्रति खुसी इभेन्टस् र हङकङबासी दर्शकलाई आभार व्यक्त गरेका छन्। उनले सिनेमाका प्रचार सामग्रीले पाएको दर्शकको प्रतिक्रियाप्रति पनि खुसी व्यक्त गरे।
आबाट आमा २ को आधिकारिक टिजर र पहिलो रोमान्टिक गीत अचेल किन कान्छीले युट्युबमा ५० लाखभन्दा बढी भ्युज पाइसकेका छन्। सार्वजनिक पोस्टरहरू समेत सामाजिक सञ्जालमा अत्यधिक सेयर हुनुका साथै हजारौँ सकारात्मक कमेन्ट पाएको निर्माण पक्षले जनाएको छ।
दुवै प्रचार सामग्रीले ५० लाखभन्दा बढी भ्युज पाउनु र पोस्टरले सामाजिक सञ्जालमा पाएको प्रतिक्रिया ठूलो उपलब्धि भएको निर्देशक पन्तले बताएका छन्। दर्शकको विश्वास र मायाले आफू तथा सम्पूर्ण टिमलाई थप ऊर्जा, हौसला र जिम्मेवारीबोध गराएको उनको भनाइ छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको आबाट आमा २ को हङकङ सेड्युल सम्पन्न भएको छ। अब टिम नेपाल फर्किएर अन्तिम पोस्ट–प्रोडक्सनको काम पूरा गर्ने तयारीमा छ।
पारिवारिक विछोड र आमाप्रतिको अगाध प्रेमको कथा बोकेको सिनेमा आगामी २०८३ असोज ३० गते बडादशैँदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button