
सिनेमा संसार
काठमाडौं
प्रदर्शनको मिति नजिकिएसँगै सिनेमा अक्षराले प्रचारप्रसारलाई आक्रामक बनाएको छ। यही क्रममा आइतबार किर्तिपुरदेखि कपनको क्लब मण्डलासम्म साइकल र्याली आयोजना गरिएको छ।
अक्षराको टि–सर्ट लगाएका २ सय ५० भन्दा बढी साइकल यात्री र्यालीमा सहभागी थिए। निर्देशक विनयराज पौडेलका अनुसार दर्शकमाझ सिनेमाको जानकारी पुर्याउने उद्देश्यले र्याली गरिएको हो। आगामी शुक्रबार अर्थात् असोज २३ गतेबाट प्रदर्शनमा आउन लागेको अक्षरालाई युनिभर्सल सर्टिफिकेट प्राप्त भएको छ। त्यसैले सबै उमेर समूहका दर्शकले यो सिनेमा हेर्न पाउने निर्माण पक्षले जनाएको छ। र्यालीमा अभिनेत्री न्यान्सी खड्का, पुस्कर राउतसहित निर्माता तथा निर्माण पक्षको उपस्थिति थियो।
२ घण्टा १४ मिनेट लामो अक्षराले छोरीले सुख पाउने विश्वासमा नचिनेकै धनी केटासँग विवाह गरिदिएपछि परिवारमा उत्पन्न हुने समस्यालाई कथाको केन्द्रमा राखेको छ। सिनेमामा न्यान्सी खड्कासँगै सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा), सृष्टि खड्कालगायतले अभिनय गरेका छन्। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले निर्माण गरेको तथा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेको सिनमोको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन्। पटकथा र संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका छन्।




