
सिनेमा संसार
काठमाडौं
महिला फेसन डिजाइनरहरूमा केन्द्रित द नेसनल डिजाइनर रन वे २०२६ को उपाधि अकृति श्रेष्ठले जितेकी छन्।
उनले उपाधिसँगै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। त्यस्तै अनिशा थापा फस्ट रनरअप र युनिका राई सेकेन्ड रनरअप बने।अन्य विधातर्फ सम्झना केसी मस्ट पपुलर, विविका पौडेल बेस्ट रनवे मोडल घोषित भए। एभेन्टोज नेपाल तथा युवा उद्यमी डेभिल सिंह राजपूतको नेतृत्वमा आयोजना गरिएको यस वर्षको संस्करण विशेष रूपमा महिला डिजाइनरमा केन्द्रित थियो। प्रतियोगितामा देशभरबाट आएका १९ जना महिला डिजाइनरले सहभागिता जनाउँदै महिला मोडलका लागि लक्षित आकर्षक र आधुनिक ड्रेस कलेक्सन प्रस्तुत गरेका थिए।
परम्परा र आधुनिकताको समिश्रण झल्काउने डिजाइनहरूले रनवेमा दर्शकको मन जितेका थिए। यस वर्षका अधिकांश ड्रेसहरू अन्तर्राष्ट्रिय रेड कार्पेट फेसनबाट प्रेरित देखिन्थे। डिजाइनरहरूले बोल्ड कट, फ्लोइङ गाउन, हाई स्लिट, सिक्विन डिटेलिङ, मेटालिक टोन र एलिगेन्ट सिल्हुएट प्रयोग गरेका थिए। केही कलेक्सनमा हलिउड तथा बलिउड सेलिब्रिटीको रेड कार्पेट स्टाइल झल्किने गरी ड्रामाटिक ट्रेल, अफ–शोल्डर डिजाइन, डीप नेकलाइन र फ्युजन कुट्युर समावेश गरिएको थियो। नेपालीपन झल्काउन ढाका, ह्यान्डमेड फेब्रिक र परम्परागत मोटिफलाई आधुनिक कटसँग संयोजन गरिएको थियो, जसले लोकल र ग्लोबल फेसनबीच सन्तुलन प्रस्तुत गर्यो।
कार्यक्रमको निर्णायकमा विशाल गुरुङ, स्वीकृति प्याकुरेल, सुचिता साची र अश्विनी झा रहेका थिए। कार्यक्रमको होस्ट तथा कोरियोग्राफी रोजिन शाक्यले सम्हालेका थिए।




