BOLLYWOODHOLLYWOOD

दलाई लामालाई ९० वर्षको उमेरमा ग्रामी अवार्ड

बने विश्व संगीत इतिहासका प्रेरणादायी विजेता

सिनेमा संसार
काठमाडौं
विश्व संगीत क्षेत्रको सबैभन्दा प्रतिष्ठित मानिने ग्रामी अवार्डको ६८औँ संस्करणमा तिब्बती धर्मगुरु दलाई लामाले ऐतिहासिक सफलता हात पारेका छन्। ९० वर्षको उमेरमा उनले बेस्ट अडियोबुक, न्यारेसन एन्ड स्टोरीटेलिङ रेकर्डिङ विधामा ग्रामी अवार्ड जित्दै विश्वभर ध्यान आकर्षित गरेका हुन्।
एजेन्सीका अनुसार अमेरिकाको लस एन्जलसस्थित क्रिप्टो डटकम एरिनामा आयोजना गरिएको मुख्य समारोहअघि सम्पन्न प्रिमियर सेरेमनीमा दलाई लामाको नाम विजेताका रूपमा घोषणा गरिएको थियो। स्वास्थ्य तथा व्यक्तिगत कारणले समारोहमा उपस्थित हुन नसकेपछि उनका तर्फबाट अमेरिकी गायक तथा संगीतकार रुफस वेनराइटले स्टेजमा पुगेर ट्रफी ग्रहण गरेका थिए।
भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालाको म्याकलोड गञ्जमा बसोबास गर्दै आएका दलाई लामाले आफ्नो अडियो कृति मेडिटेसन्सः द रिफ्लेक्सन अफ हिज होलिनेस दलाई लामाका लागि यो सम्मान प्राप्त गरेका हुन्। उक्त विधामा यस वर्ष कडा प्रतिस्पर्धा रहेको थियो। मनोनयन सूचीमा फाब मोर्भान, अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश केतान्जी ब्राउन ज्याक्सन, चर्चित कमेडियन ट्रेभर नोआ तथा अभिनेत्री क्याथी गार्भरजस्ता चर्चित व्यक्तित्वहरू पनि समावेश थिए।

ग्रामी अवार्ड जितेपछि दलाई लामाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै यस उपलब्धिलाई व्यक्तिगत सफलता भन्दा पनि विश्वव्यापी जिम्मेवारीको प्रतीकका रूपमा स्वीकार गरेको जनाएका छन्। शान्ति, करुणा, वातावरणप्रति जिम्मेवारी र सम्पूर्ण मानवता एक हो भन्ने सन्देश विश्वभर फैलाउन यो सम्मान सहयोगी हुने विश्वास उनले व्यक्त गरेका छन्।
यस अडियोबुकका निर्माता भारतीय मूलका कबिर सेगल हुन्, जो हाल अमेरिकाको एटलान्टामा बसोबास गर्छन्। बहुआयामिक प्रतिभाका धनी सेगल संगीतकार, बेस गिटारिस्ट, फिल्म निर्माता, सैनिक भेट्रान तथा वित्तीय विज्ञसमेत हुन्। उनले यसअघि पनि थुप्रै ग्रामी र एमी अवार्ड जितिसकेका छन्।
एल्बम निर्माणका लागि दलाई लामाका सय घण्टाभन्दा बढी प्रवचन र संवाद प्रयोग गरिएको छ। यस परियोजनामा विश्वप्रसिद्ध कलाकारहरूको सहभागिताले यसलाई अझ विशेष बनाएको छ। सरोद वादनका दिग्गज उस्ताद अमजद अली खान, उनका छोरा अमान र अयान अली बंगश, गायक रुफस वेनराइट तथा गायिका–अभिनेत्री आन्द्रा डेले एल्बममा आफ्नो प्रस्तुति दिएका छन्।
यसै समारोहमा वर्षको एल्बम अफ द इयर अवार्ड गायक ब्याड बन्नीले आफ्नो एल्बम डेबी तिरार मास फोटोजका लागि जिते। रेकर्ड अफ द इयर तथा बेस्ट मेलोडिक र्याप परफर्मेन्स अवार्ड केन्ड्रिक लामार र एसजेडएको गीत लुथरले पाएका छन्। केन्ड्रिक लामारले बेस्ट र्याप एल्बम र बेस्ट र्याप सङ समेत जिते।
सङ अफ द इयर अवार्ड बिली आइलिएसको वाइल्डफ्लावरले जित्दा बेस्ट पप भोकल एल्बम र बेस्ट डान्स पप रेकर्डिङ अवार्ड लेडी गागाले आफ्नो नाममा पारिन्। न्यू आर्टिस्ट अवार्ड ओलिभिया डिनले जित्दा ट्रेडिसनल पप भोकल एल्बम अवार्ड लाउफेको अ म्याटर अफ टाइमले प्राप्त ग¥यो। अल्टरनेटिभ म्युजिक एल्बम अवार्ड द क्योरको सङ्स अफ अ लस्ट वल्र्डले जित्यो।
अफ्रिकन म्युजिक परफर्मेन्स अवार्ड टाइलाको पुष टु स्टार्ट ले जित्दा डान्स तथा इलेक्ट्रोनिक एल्बम एफकेए ट्विग्सको युसेक्सुआ घोषित भयो। कन्टेम्पोररी कन्ट्री एल्बम अवार्ड जेली रोलको ब्युटिफुली ब्रोकन ले जित्यो भने बेस्ट आर एन्ड बी एल्बम अवार्ड लियोन थोमसको मटले पाएको छ।
यसैगरी, एमी एलेन सङराइटर अफ द इयर घोषित भइन् भने प्रोड्युसर अफ द इयर अवार्ड सर्कुटले जितेका छन्। पप डुओ तथा ग्रुप परफर्मेन्स अवार्ड सिन्थिया एरिभो र एरियाना ग्रान्डेको डिफाइङ ग्राभिटीले प्राप्त गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button