CINEMA

बा–आमा बनाउँदै टंक

सिनेमा संसार
काठमाडौं
गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ सिनेमा बा–आमा निर्माण गर्ने भएका छन्।
यसअघि उनले निर्माण गरेको पहिलो सिनेमा मन बिनाको धनले करिब चार करोड रुपियाँ हाराहारीको व्यापार गरेको थियो। बा–आमामा पनि मन बिनाको धनमा जस्तै बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पूनः देखिने छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी गराएका छन्।
टंक बुढाथोकीकै कथामा निर्माण हुने सिनेमाका लागि पटकथा र संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ। ‘स्क्रिप्ट लेखन लगभग अन्तिम चरणमा छ। त्यसपछि कलाकार छनोटको प्रक्रिया सुरु गर्नेछौँ,’ बुढाथोकीले भने, ‘आगामी वैशाखदेखि छायांकन सुरु गर्ने योजना छ।’
सिनेमाको कथा टंक बुढाथोकीकै लोकप्रिय गीत बा–आमाबाट प्रेरित हुनेछ। करिब पाँच वर्षअघि सार्वजनिक भएको टंकको हिट गीत बा–आमाकै शीर्षकमा सिनेमा निर्माण हुन लागेको हो। यसअघि पनि उनले आफ्नो सुपरहिट गीत मन बिनाको धन शीर्षकबाट सिनेमा निर्माण गरेका थिए। पहिलो सिनेमालाई दर्शकले राम्रो प्रतिक्रिया दिएको उल्लेख गर्दै उनले त्यसमा देखिएका कमी–कमजोरी सुधारेर अझ राम्रो सिनेमा निर्माण गर्ने लक्ष्य रहेको बताए।
बा–आमा पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित सिनेमा हुने जनाइएको छ। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमामा विष्णुमाया मैनाली निर्मात्री रहने छिन्।

 

Related Articles

Back to top button