
सिनेमा संसार
काठमाडौं
अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा निर्माणाधीन सिनेमा ३६ को आँकडा को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा दुई लोकप्रिय अभिनेत्री रेखा थापा र पूजा शर्मा प्रमुख भूमिकामा देखिएका छन्। प्रहरी अधिकृतको भूमिकामा रहेकी रेखाले पूजालाई हत्कडी लगाउँदै नियन्त्रणमा लिएको दृश्यले, दुई महिला पात्रबीचको द्वन्द्वलाई केन्द्रमा राखिएको संकेत गरेको छ। पोस्टरमा रेखाको अनुहारमा संघर्षपश्चात प्राप्त विजयको चमक झल्किएको छ भने नियन्त्रणमा परेकी पूजाको अनुहारमा अझै हार स्वीकार नगरेको दृढता अभिव्यक्त भएको छ।
महिला–केन्द्रित द्वन्द्वमा आधारित कथामा दुई लिडिङ लेडीको टक्कर पर्दामा कसरी प्रस्तुत हुन्छ भन्ने कौतुहलता चुलिएको छ।
सिनेमाको निर्देशन सबिर श्रेष्ठले गर्नेछन्। सोमबारबाट सुटिङ फ्लोरमा गएको यो सिनेमामा रेखाको जोडीमा पछिल्लो समय अभिनयमा रुचाइएका महेश त्रिपाठी देखिनेछन् भने पूजासँग लोकप्रिय अभिनेता पुष्प खड्का पेयरिङमा छन्। साथै, अर्को आकर्षण अभिनेत्री निरुता सिंहको पुनरागमन हो। लामो समयपछि पर्दामा फर्कन लागेकी निरुताले अब निरन्तर सिनेमामै काम गर्ने बताएकी छिन्। उनले पछिल्लोपटक दाल भात तरकारी मा अभिनय गरेकी थिइन्। निर्देशक श्रेष्ठले भने, “सहायक निर्देशकका रूपमा निरुताजीसँग काम गर्ने मौका पाएको थिएँ, तर निर्देशक भएपछि सँगै काम गर्ने पाएको थिइनँ। यो सिनेमामा चाहिने विशेष भूमिकामा उहाँ नै उपयुक्त लागेकाले हामीले आग्रह गरेका हौँ।”
रेखा थापा र निरुता सिंहले दुई पल पछि पहिलोपटक यस सिनेमामा स्क्रिन शेयर गर्न लागेका हुन्। रेखा थापाको प्रोडक्सन ब्यानरमा निर्माणाधीन यस सिनेमामा रेखा, पूजा, महेश, पुष्पसँगै निरुता सिंहको उपस्थितिले आकर्षण अझ बढाएको छ। महिला–पात्रबीचको टक्करमार्फत नयाँ ढंगको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।