गाईजात्रालाइ शिवशंकर रिजालको मिसन नौटंकी सार्वजनिक

सिनेमा संसार
काठमाडौं
हास्यकलाकार शिवशंकर रिजालले गाईजात्रा लक्षित व्यंग्यात्मक भिडियो सामग्री ‘मिसन नौटंकी’ सार्वजनिक गरेका छन्। विगत दुई दशकदेखि हरेक गाईजात्रामा विशेष प्रस्तुति ल्याउँदै आएका रिजालले यसपालि पनि सामाजिक तथा राजनीतिक विसंगतिमाथि कटाक्ष गरेका छन्।
‘मिसन नौटंकी’ मार्फत उनले पछिल्लो समय चर्चामा रहेको ‘मिसन ८४’ भन्ने राजनीतिक नारा र नेताहरूको व्यवहारलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका छन्। भ्रष्टाचार, सत्ता संघर्ष, लुटपाटजस्ता विषयलाई उनले हास्यको पुट दिँदै भिडियोमा उतारेका छन्।
यो प्रस्तुति ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। रिजालले यस कार्यक्रमलाई गाईजात्राको २२ औं कोसेलीको रूपमा दर्शक माझ ल्याएका हुन्। अघिल्लो वर्ष उनले ‘लुछाचुँडी’ शीर्षकको प्रस्तुति ल्याएका थिए।यसपटकको प्रस्तुतीमा कलाकार राधिका हमाल, प्रेम शर्मा पौडेल, सावित्रा लामिछाने (सबु), धिरेन्द्र सिंह, किरण खनाल, बेदमणी अधिकारी, बलराम धमला (ठूले दाई), सविना विक, भीम परियार र बाल कलाकार पोस्ना श्रेष्ठले अभिनय गरेका छन्। कार्यक्रमको लेखन, निर्देशन तथा प्रस्तुति स्वयम् शिवशंकर रिजालले गरेका हुन्।
‘मिसन नौटंकी’मा हिट नेपाली सिनेमा ‘जात्रै जात्रा’को गीत ‘लाइदेऊ माया पिरिम’को प्यारोडी प्रयोग गरिएको छ, जसमा चर्चित अनुहारहरूको सामाजिक र राजनीतिक प्रसङ्गलाई समेटिएको छ।रिजालले दर्शकबाट निरन्तर साथ र स्नेह पाइरहेको बताउँदै यसपालिको कोसेलीलाई पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्। उनी हाल राष्ट्रिय नाचघरले आयोजना गर्ने गाईजात्रा कार्यक्रममा सहभागी हुन तयारीमा छन्।




