
सिनेमा संसार
काठमाडौं
चलचित्र विकास बोर्डले सोमवार गत २५ वर्षमा सर्वाधिक व्यापार गर्न सफल २५ सिनेमालाइ सम्मान गर्दै स्थापनाको रजत वार्षिकोत्सव मनाएको छ।
राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित रजत जयन्ती समारोहको प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल रूपमा आरम्भ गरेका थिए। समृद्ध फिल्म जगत्को लागि दक्ष फिल्मकर्मी नाराको घोषणा गर्दै वर्ष २०८२ लाई दक्षता अभिवृद्धि वर्षका रूपमा मनाउने बोर्डले घोषणा गरेको छ।
समारोहमा ३३ प्रकारका सेवा अनलाइन माध्यमबाट प्रदान गर्ने, बक्स अफिस टु सिनेपा नामक एप सार्वजनिकसँगै आमाको पोस्टर अङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरिएको छ। त्यस्तै आमाको प्रदर्शन मिति २०२२ असोज १५ गतेलाई नेपाली फिल्म प्रदर्शनलाई आधार मान्दै मन्त्रिपरिषद्को निर्णयबमोजिम असोज १५ गतेलाई फिल्म दिवस घोषणा गरिएको छ। कार्यक्रममा बोर्डले २०५७ भदौ ५ देखि बोर्डमा कार्यरत कार्यालय सहायक दीपककुमार बोटलाई नगद ५० हजार रुपियाँसहित रजत वर्ष कर्मचारी सम्मान प्रदान गरेको छ।
त्यसै गरी गत २५ वर्षको नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाई गर्ने २५ फिल्मलाई सम्मान गरिएको छ। सो अवसरमा हालसम्मकै सर्वाधिक ४६ करोड ८७ लाख ४१ हजार ४ सय ९७ रुपिया“ ग्रस कलेक्सन गर्ने फिल्म पूर्ण बहादुरको सांरगीदेखि पशुपतिप्रसाद २ भष्मे डनसम्म छन्। कार्यक्रममा कबड्डी ४, १२ गाउँ, छक्कापञ्जा ४, जारी, छक्कापञ्जा, महाजात्रा, छक्कापञ्जा ५, कोहिनुर, छक्का पन्जा २, शत्रुगते, उनको स्विटर, कबड्डी २, बोक्सीको घर, छ माया छपक्कै, दिमाग खराब, अञ्जिला, परदेशी २, छक्कापञ्जा ३, प्रेम गीत ३, कबड्डी कबड्डी, कबड्डी, पुजार सार्की, महापुरुष, कबड्डी र पशुपति प्रसाद २ लाई सर्वाधिक कमाई गर्ने फिल्मका रूपमा सम्मान गरिएको छ।
बोर्डका सदस्य सचिव राजेशकुमार थापाको स्वागत मन्तव्यबाट शुरू भएको समारोहमा बोर्डका पू्र्व अध्यक्ष नीर शाह, शम्भुजित बास्कोटा, कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष्ँ नवल खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, ड्रोन सञ्चालन संघका अध्यक्ष राजभाइ सुवाललगायतले दिएको शुभकामनालाई श्रव्यदृश्य सामग्रीको रूपमा प्रस्तुत गरिएको थियो।
अवार्ड कार्यक्रम जसरी भव्यता रौनकताका साथ सम्पन्न समारोहमा बोल्दै मन्त्री गुरुङले फिल्म क्षेत्रले ६० वर्षको गौरवमय इतिहास बोकेको अवसरमा आमाको प्रदर्शनको मितिलाई ध्यानमा राख्दै असोज १५ गतेलाई गत असार १३ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार फिल्म दिवस घोषणा गरिएको बताए। ‘मलाई शुरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने बेला मैले यसलाई अवसर र चुनौती दुवैको रूपमा लिएको थिए“। अन्य मन्त्रालयभन्दा कम ७ अरब बजेट भएको यो मन्त्रालय सम्हाल्दै गर्दा विदेशको मोह त्यागेर आफ्नै देश र माटोमा क्रियसन देखाएर बसेका जवानहरूलाई सम्मान गर्न पाउँदा मैले यो मन्त्रालय रोजेकोमा ठिक गरेछु भन्ने लागेको छ। म मेरो सिफारिसमा नेपाल सरकारले नियुक्त गरेका व्यक्तिहरूले राम्रो काम गरून् भन्ने चाहन्थें। तीमध्ये बोर्डका अध्यक्ष दिनेश डिसीले हुने बिरुवाको चिल्लो पात भनेजस्तै ड्यासिङ काम गरिरहनु भएको छ’ मन्त्री गुरुङले हर्ष व्यक्त गर्दै भने ‘आमा फिल्मकी अभिनेत्री भुवन चन्दलाई म संसारकै भाग्यमानी व्यक्ति मान्छु। यो उमेरसम्म पनि सक्रिय हुनुहुन्छ, उहाँलाई शताब्दी महिला बन्नको लागि शुभकामना।’
मन्त्री गुरुङले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८२ बारे राष्ट्रियसभामा छलफल भएको र छिट्टै प्रतिनिधि सभामा पनि छलफल गरेर अगाडि बढाउने बतँए। ‘प्रस्तावित चलचित्र ऐनमा छुटेका कुरा हुन सक्छन्, ड्राफ्टमा भएका कुरा पर्याप्त नहुन सक्छन् तर त्यसमा छलफल गर्ने समय छ’ उनले भने।
त्यस्तै सञ्चार सचिव राधिका अर्यालले बोर्डका लागि २५औं वर्षको कार्यक्रम निकै खास रहेको जनाउँदै पूर्वाधार र नीतिगत सुधारका काम गरिरहेको बताइन्। बोर्ड अध्यक्ष डिसीले बोर्डले दिने ३३ प्रकारका सेवा अब अनलाइनबाटै लिन सकिने जानकारी गराउँदै बक्स अफिस टु सिनेपा एपले रियल टाइम बक्स अफिर डाटा बुझ्न निर्मातालाई सघाउने, फिल्मको व्यापारलाई पारदर्शी बनाउने तथा निर्माता, वितरक र प्रदर्शकको विचको शंका उपशंका हटाई, सम्बन्धलाई आगामी दिनमा अझै हार्दिकता बनाउने बतँए। ‘आज हामीले सर्वाधिक कमाइ गर्ने २५ चलचित्रलाई सम्मान गर्नुको उद्देश्य फिल्म क्षेत्रमा उहाँहरूले दिनुभएको योगदान हो। रियल टाइम बक्स अफिसको डाटाले फिल्म निर्माण गर्न चाहनेलाई भ्रमित बनाउने र फिल्मको कमाइबारे आउने समाचारको परम्परालाई पनि चिर्नेछ। हामीले सूचनाको हकअन्तर्गत फिल्मले गरेको व्यापारलाई हामीकहाँ आएको अनुरोधका आधारमा प्रदान गर्ने छौँ डिसीले भने। उनले आफूले २ वर्षमा गर्ने भनेको काम ८ महिनामै गर्न सफल भएकाले आगामी दिनमा अझै चुनौती र दायित्व थपिएको बताए।
समारोहमा बोर्डको वार्षिक प्रकाशन चलचित्र मञ्च र नेपाली फिल्ममा भएका पहिलो गतिविधिलाई समेटिएको नेपाली चलचित्रमा पहिलो नामक दस्ताबेजमूलका पुस्तक समेत विमोचन गरिएको छ। दुवै पुस्तकको प्रधान सम्पादक शान्तिप्रिय रहेका छन्।




