
सिनेमा ससार
काठमाडौं
आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा जनै हराएको मान्छे: सम्बन्धका धागाहरू का पात्रहरूको पहिलो झलक सार्वजनिक गरिएको छ। सार्वजनिक क्यारेक्टर लुक्समा भोलाराज सापकोटा र बाल कलाकार आरुस भुसाल देखिएका छन्।
भोलाराजको अवतारले उनलाई परम्परागत शिक्षाको अभ्यासमा लागेको, विशेषगरी संस्कृत भाषा अध्ययन गरिरहेको व्यक्ति भनेर संकेत गर्छ। उनीसँगै प्रस्तुत गरिएको आरुस भुसालले भोलाराजको छोराको भूमिका निर्वाह गरेका छन्।
आरुसको संवाद—यो संसारमा सबैभन्दा महंगो कुरा बाबाको पसिना रहेछ ले कथामा बाबु-छोराको सम्बन्ध कति भावनात्मक र संघर्षपूर्ण छ भन्ने झल्काउँछ।
सिनेमाको निर्देशन हिमाल न्यौपानेले गरेका हुन् भने मुख्य भूमिकामा विजय बराल देखिनेछन्। उनीसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भावना खपांगी मगर, रियर राई, सुमन थापा, रूपेश लामा लगायतका कलाकारले अभिनय गरेका छन्।सिनेमामा संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको रहेको छ। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। छायांकन नवीन गुरुङले र सिनेमेटोग्राफी कृष्ण परियारले गरेका छन्।
निर्माण पक्षमा पेपरक्लिप ब्यानर अन्तर्गत कमल न्यौपाने र विमल न्यौपाने छन्। कार्यकारी निर्माताका रूपमा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डि.सी., र जेम्स महाराजन सहभागी छन्।
सिनेमाका सह–निर्देशक मनिष राउतका अनुसार, यो कथा बाबु र छोराबीचको सूक्ष्म सम्बन्धलाई समेट्न खोजिएको एक प्रयास हो, जहाँ सानो देखिने सम्बन्धका धागाहरूले गहिरो भावनात्मक प्रभाव छोड्नेछन्।