CINEMANEWS

टिकटकका कुल ब्वाइ अब सिनेमामा

होस्टेल ३ बाट सिनेमामा डेब्यु गर्दै

सिनेमा संसार सम्बाददाता
काठमाडौँ

नेपाली सिनेमा क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित सिनेमा होस्टेलको तेस्रो भाग होस्टेल ३मा कुल ब्वाइको नामबाट चर्चित पारस बम अनुबन्धित भएका छन्। टिकटकर हुँदै इन्टरनेटमा भिडियो कन्टेन्ट कृयटर को रूपमा चर्चित बमलाई सिनेमाको महत्त्वपूर्ण भूमिका र प्रमुख पात्रहरू मध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताए।
होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर्स र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यस चलचित्रबाट डेब्यु गर्न लागेका पारस गायक समेत हुन्। उनका कान्छी कता हिँडेको,बुवाको नाक होस लगायतका गीतहरू चर्चित छन्।
जुन पात्र सिनेमाको स्क्रिप्टले डिमान्ड गरेको छ त्यो पात्रमा कुल ब्वाइ सबै पक्षबाट उत्तम रहेको कारण अनुबन्ध गरिएको निर्देशक कँडेलले बताए। उनले यस सिनेमाको पनि अघिल्ला भागहरूमा जस्तै कुल ब्वाइ सहितका अन्य केही स्टार कलाकारको जन्म हुने जनाए।

होस्टेलबाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्सबाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। उनीहरू सबै नेपाली सिनेमाका सफल कलाकारहरू बनिसकेका छन्।

होस्टेल ३ को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। यसअघि बनेका होस्टेल र होस्टेल रिटर्न्सलाई सुनिल रावलले बनाएका थिए भने होस्टेल ३ लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्।
२०७० सालमा रिलिज भएको होस्टेल र २०७२ मा रिलिज भएको होस्टेल रिटर्न्स घरेलु बक्स अफिसमा सफल भएका थिए। होस्टेल ३ का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताएका छन्। यस वर्षको अन्त्यतिर सिनेमाको रिलिज लक्ष्य राखी काम अघि बढेको निर्देशकले बताएका छन्।

Related Articles

Back to top button