MUSICNEWS

नीर शाहलाई अमरभावना राष्ट्रिय स्रष्टा सम्मान

सिनेमा संसार
काठमाडौं
गीतकार संघ नेपालको १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित सम्मान तथा पुरस्कार समारोह एवं सांगीतिक कार्यक्रम राजधानीमा सम्पन्न भएको छ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आइतबार गीतकार किरण खरेलको प्रमूख आतिथ्यतामा सम्पन्न समारोहमा यस वर्षको अमरभावना राष्ट्रिय स्रष्टा सम्मान लोकप्रिय गीतकार नीर शाहलाई प्रदान गरिएको छ। पाँच दशकदेखि नेपाली कला क्षेत्रमा निरन्तर योगदान दिँदै आएका शाहलाई नगद १ लाख ५१ हजार रुपैयाँसहित सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरिएको हो। उनका बादल बनाई देउ आकार बदल्न सकुँ, गहिराइमा डुब्दै नडुब, पर्खि बसे आउला भनि, कहिले कही हास्छु धेरै नै हान्छु, तिमीसँग डुङ्गामा घुम्छा घुम्दै फेवाताल, खुल्दैन ताल्चा त्यो ढोकाका, हिउ भन्दा चिसो, आगो भन्दा तातो, आँखैमा कसैको तस्बिर, अर्को जुनी चाहिदैन मलाई, प्यारी वसन्ती र पसिनाको जलैले लगायत गीत चर्चित छन्।
यस वर्षको डायस्पोरा गीतकार सम्मान नीलम आङ्बुहाङ राईलाई प्रदान गरियो। राईलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। त्यस्तै, विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान लोहोरुङ राई भाषाका स्रष्टा नइन्द्र लोहोरुङ राईलाई प्रदान गरियो। उनलाई नगद २५ हजार २ सय ५२ रुपैयाँसहित सम्मान गरिएको हो। हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान–२०८२ बाट सुशिला पौडेल र अरुण तिवारी पुरस्कृत भए। दुवैलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिएको थियो।
संघले यसै वर्षदेखि सुरु गरेको गीतकार संघ नेपाल पत्रकारिता सम्मान–२०८२ बाट हिमालय टाइम्सका उपसम्पादक तथा वरिष्ठ पत्रकार कृष्ण भुसाल सम्मानित भए। उनलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको हो। सम्मानित व्यक्तित्वका तर्फबाट नीर शाहले मन्तव्य राखेका थिए।
कार्यक्रममा जगतमर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार–२०८२ कल्पना खरेलको नन्दिनी र ज्ञानेन्द्र गदालको भोलीको आश उज्यालो प्रकाश कृतिलाई प्रदान गरियो। दुवै कृतिका लागि नगद ५७ हजार रुपैयाँको पुरस्कार रहेको थियो। भैरवनाथ रिमाल कदम वर्ष गीत पुरस्कारबाट डम्बर याक्सोको म तिम्रो नजरमा र प्रवल विष्टको भुल्न सकिनँ गीत पुरस्कृत भए।
सम्मान तथा पुरस्कार प्रदानसँगै १० अग्रज गीतकारको सम्मानमा उनीहरूका कालजयी गीत प्रत्यक्ष प्रस्तुत गरिएको थियो। नीर शाहको गहिराइमा डुब्दै नडुब गायक जगदिश समालले प्रस्तुत गरे भने डा. भोला रिजालको मेरो पौवा पाटीलाई सञ्जय तुम्रोकले गाए। दिवंगत स्रष्टा गणेश रसिकप्रति श्रद्धाञ्जलीस्वरूप उनको धेरै सम्झे धेरै हुन्छ गीत अशोक मुकारुङले प्रस्तुत गरे।
त्यसैगरी एसपी कोइरालाको ग्रहण सिनेमाको धडकनभित्र लुकाइदेऊ न रूपक चौधरी र बिनुषा राईले युगल रूपमा प्रस्तुत गरे। अमर बान्तुको आमा निशा देसार, बसन्त चौधरीको मेरो प्यारो मान्छे माण्डवी त्रिपाठी तथा संघका संस्थापक अध्यक्ष डा. कृष्णहरि बरालको मर्ने कसैलाई रहर हुँदैन बाल गायक प्रेम परियारले प्रस्तुत गरे। योगेन्द्रमणी दाहालको बादलहरू हो सञ्जय तुम्रोक, चूडामणि देवकोटाको तिम्रो पनि रगत सुमित खड्का तथा शुभ मुकारुङको तिमीले मलाई छाडि गए गणेश पराजुलीले प्रस्तुत गरेका थिए।
संगीतकार अशोक कुमार राईको संगीत संयोजनमा १५ जना वाद्यवादकले प्रत्यक्ष संगीत दिएका थिए। कार्यक्रममा संघका आजीवन सदस्यता प्राप्त गीतकारलाई प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्रमलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button