CINEMANEWS

अनमोलको पुरानो समयको प्रेम,बाटुलो जून

सिनेमा संसार
काठमाडौं
निर्माता, निर्देशक तथा भुवन केसीले आफ्नो नयाँ सिनेमा बाटुलो जूनमार्फत नेपाली समाजको पुरानो समय र त्यतिबेलाको प्रेमलाई पर्दामा फर्काएका छन्। आगामी कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने सिनेमाको टिजर सार्वजनिक गर्दै निर्माण पक्षले प्रचारप्रसारलाई गति दिएको हो।
सनराइज पिक्चरको ब्यानरमा निर्माण भएको बाटुलो जूनको टिजरले कथाको सम्पूर्ण जानकारी नदिई सिनेमा भित्रको परिवेश र कथाका विभिन्न आयामको झलक प्रस्तुत गरेको छ। टिजरमा क्यान्डिड सटलाई समेत स्थान दिइएको छ।
३० को दशकमा आधारित प्रेमकथामा तयार भएको सिनेमाले त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई कथाको आधार बनाएको छ। अहिलेको प्रविधिमैत्री समय र तीव्र गतिमा बदलिएको प्रेमभन्दा फरक त्यो समयको प्रेम र समाजलाई पर्दामा उतारिएको निर्माण पक्षले जनाएको छ।
भुवन केसीले यसअघि निर्देशन गरेको ड्रिम्समा उत्तरआधुनिक प्रेमकथा प्रस्तुत गरेका थिए। बाटुलो जूनमा भने उनी त्यसभन्दा धेरै पछाडिको समयतर्फ फर्किएका छन्। त्यही समयमा भुवन स्वयं नेपाली सिनेमामा प्रेमकथाका लोकप्रिय अभिनेता थिए।
बाटुलो जून आफ्नो सिनेमायी यात्रासँग पनि जोडिएको भुवनको भनाइ छ। आफूले अभिनय गरेका दशकअघिका प्रेमकथाको समय र संवेदनालाई सम्झँदै नयाँ पुस्ताका लागि त्यही समयलाई पर्दामा पुनः सिर्जना गर्ने प्रयास गरिएको उनले बताएका छन्।
सिनेमामा अनमोल केसी मुख्य भूमिकामा छन् भने भुवन केसीको पनि महत्वपूर्ण भूमिका रहेको छ। यही सिनेमाबाट प्रिन्सी खतिवडाले अभिनयमा डेब्यु गरेकी छन्। बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि बाटुलो जूनबाट पुनरागमन गरेकी छन्।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेको सिनेमामा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा जोडिएका छन्।
जिया केसी र भविष्य खड्का निर्माता रहेको बाटुलो जूनमा विवेक थापा सह–निर्माताका रूपमा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button