
सिनेमा संसार
काठमाडौं
नेपाली फिचर सिनेमा एक मुठ्ठी बादल (माई सेयर अफ स्काई) आगामी जेठ १ गतेबाट नेपालभर प्रदर्शनमा आउने भएको छ। निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ लाई प्रदर्शन मिति तय गरेको हो।
गौथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको सहकार्यमा निर्माण भएको सिनेमामा अधिकांश प्राविधिक तथा सिर्जनात्मक नेतृत्व महिलाले सम्हालेका छन्। तीन पुस्ताबीचको भावनात्मक उतारचढावलाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमाले परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारभित्रका अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षाको कथा प्रस्तुत गर्ने बताइएको छ।
सिनेमाको लेखन तथा निर्देशन सहारा शर्माले गरेकी छन्। अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएकी शर्माले यसअघि चेजिङ रेनबोज शीर्षकको सिनेमा निर्देशन गरेकी थिइन्, जुन २०१३ मा काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको उद्घाटन सिनेमा बनेको थियो। उक्त महोत्सवमा उनले नेपाली पनोरामा तर्फको शीर्ष पुरस्कारसमेत जितेकी थिइन्।
सिनेमाले अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न उपलब्धि हासिल गरेको छ। यो सिनेमा युरोपियन पोस्ट प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड प्राप्त गर्ने महिला निर्देशकद्वारा निर्देशित पहिलो नेपाली सिनेमा बनेको छ। साथै सिनेमा विभिन्न अन्तर्राष्ट्रिय फिल्म ल्याब र कार्यक्रमहरूमा समेत सहभागी भएको थियो।
सिनेमाका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि संलग्न छन्।
सिनेमामा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ। आँचल शर्माले माइलीको केन्द्रीय भूमिका निर्वाह गरेकी छन् भने अभिनेत्री निशा शर्मा तीन दशकभन्दा बढी समयपछि सिनेमामा फर्किएकी छन्।




