MUSICNEWS

समावेशी म्युजिक अवार्डका लागि आवेदन आह्वान

सिनेमा संसार
काठमाडौं
पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को प्रस्तुतिमा हरेक वर्ष आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ का लागि आवेदन आह्वान गरिएको छ।
नवौँ संस्करणको निम अवार्ड २०८३ साल वैशाखको तेस्रो साता काठमाडौंमा आयोजना गरिने कार्यक्रम संयोजक तथा पिम नेपालकी महासचिव कमला जोशीले जानकारी गराइन्। देशका विभिन्न भेगका कलाकारको सहभागिता रहँदै आएको निम अवार्डमा नेपालमा बोलिने विविध भाषाभाषीका गीतसंगीतलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ।
निम अवार्डमा नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीत तथा म्युजिक भिडियो सहभागी हुँदै आएका छन्। काँठे र देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथिली, भोजपुरी, राई, लिम्बू, थारू चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवारलगायतका भाषाका गीत तथा भिडियो कार्यक्रममा समेटिँदै आएका छन्। आयोजकका अनुसार यस वर्ष पनि ती भाषा तथा भाकाका गीतसंगीतलाई अवार्ड कार्यक्रममा समावेश गरिनेछ।
अंग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ जनवरी १ देखि २०२५ डिसेम्बर ३० भित्र सार्वजनिक भएका गीत तथा म्युजिक भिडियो उक्त अवार्डमा सहभागी हुन योग्य हुने आयोजकले जानकारी गराएका छन्।
ईरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा हुने निम अवार्डका आवेदन फारामहरू आयोजक संस्थाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ। साथै एभेन्टोज डिजिटलको अनलाइन माध्यमबाट पनि फाराम भर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button