सिनेमा संसार
काठमाडौं
लोकप्रिय गायक तथा नायक प्रकाश सपूतले ड्रिम प्रोजेक्ट वसन्तको पोस्टर सार्वजनिक गरेका छन्।
प्रकाशकै लेखन र निर्देशक रहेको सिनेमाको पोस्टरमा प्रकाश आफैँ फिचर्ड छन्। पोस्टरमा प्रकाशको पात्र अध्ययनशील देखिएको छ।
आगामी चैत २२ गते रिलीजमा आउने सिनेमामा सपूतको लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीत रहेको छ। सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै उनले लामो स्ट्याटस लेखेका छन्। जहाँ उनले सिनेमा वसन्त निर्माण गर्दाका चुनौतीका अनुभव लेखेका छन्।
वसन्त निर्माणमा व्यस्त हुँदा धेरै कुरा नचाहेर पनि छोड्नु परेको उनले उल्लेख गरेका छन्। गीत, स्टेज, सिनेमाको प्रचारमा समय दिन नसकेको खुलाएका छन्। यसका कारण आफ्नो आलोचना भएको तर पनि आफू वसन्तमा सफल भए यसबाट गुमेका सबै फिर्ता हुने उनको विश्वास छ। उनले वसन्त निर्माणको क्रममा संगीतबाट कमाएको समय, साथीभाइ र आराम गुमाएको बताएका छन्। यो सिनेमा आफ्नो जीवनकै ठूलो सपना पूरा गर्न गरिएको प्रयास भएको बताएका छन्। ‘मैले वसन्तमा मभित्रका सबै रङ्ग पोखेको छु। यदि वसन्त तपाईंलाई बबाल लाग्यो भने, म बबाल हु । यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो। मेरो सीमितता यहीसम्म हो । मैले यहाँभन्दा थप केही जान्दिनँ। यसो भनांै, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, वसन्त जति। मलाई विश्वास छ, वसन्तले समयले खोसेका सबै कुरा फिर्ता दिनेछ’ प्रकाशले स्ट्याटसमा लेखेका छन्।
वसन्तमा प्रकाशसँगै स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादेलगायतका कलाकारले अभिनय गरेका छन्। गलबन्दी प्रोडक्सनको ब्यानरमा मोहन विश्वकर्मा र विन्दू बोहराद्वारा निर्मित सिनेमामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।