CINEMANEWS

अमेरिकाको फेस्टिवलका लागि छानियो बुलबुल

सिनेमा संसार संवाददाता
काठमाडौं
३ बर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बुलबुल ओपनिङ सिनेमाको रुपमा प्रदर्शन हुने भएको छ। सिनेमाका निर्देशक विनोद पौडेलले महोत्सव आयोजकले बुलबुललाई पहिलो सिनेमाको रुपमा समावेश गरेको जानकारी गराएका छन्। गत सालको संस्करणमा नविन सुब्बा निर्देशित सिेनमा गुडबाई काठमाडौं ओपनिङ फिल्मका रुपमा प्रदर्शन भएको थियो।
तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुँदैछ। महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली सिनेमाका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ। यसैबीच बुलबुलले प्रदर्शनको चौथो हप्तामा डेढ करोड ग्रस गरेको निर्माण टिमले जानकारी गराएको छ। रिलिजको दिनदेखि नै हलिउड, बलिउड र नेपालकै पनि ठूला स्टार र बजेटका सिनेमाको चपेटामा परेको सिनेमाले चौथो हप्तासम्म प्रदर्शन यात्रा लम्ब्याएको हो। सिनेमाको समीक्षकले तारिफ गरेका थिए। समीक्षकसँगै बौद्धिक वर्गलाई पनि रिझाएको सिनेमाले बक्स अफिसमा पनि उत्तिकै राम्रो प्रदर्शन गरेको थियो। सिनेमाको लेखकसमेत रहेका पौडेलले सिनेमाले लगानी सुरक्षित गरिसकेको जानकारी गराए। ‘३ करोड लगानी गरेर १ करोड उठाउन मुस्किल भएको समयमा हामीले ८० लाख लगानी गरेर करोड बढी उठाएका छौँ। हामी थोरै सही तर नाफामा छौँ’ उनले भने। उनले रिलिजको समयमा हिन्दि सिनेमा गल्ली ब्वाई र अलिटा, पछिल्लो हप्ता ‘टोटल धमाल तथा पछि नेपाली सिनेमा क्याप्टेन र ब्रेकअपको दबाब खेप्दै सिनेमा चौथो हप्तासम्म आउनुलाई पनि बुलबुलको सफलता नै मानेको बताए। यसैबीच निर्देशक पौडेलले बुलबुल बाहिरका देशमा बेच्न सुरु गरिएको जानकारी दिएका छन्। उनले आइतबार मात्र अष्ट्रेलियामा सिनेमाको प्रदर्शन अधिकार बेचेको बताए। अष्ट्रेलियामा नेपाली सिनेमा देखाउँदै आएको नेपाल टचले बुलबुलको प्रदर्शन अधिकार लिएको हो। पौडेलले १२ लाखमा अष्ट्रेलिया अधिकारी बेचेको जनाउँदै यही हप्ताभित्र अमेरिका र भारतमा सिनेमा बेच्ने प्रक्रिया पूरा गर्ने जनाएका छन्।

Related Articles

Check Also
Close
Back to top button