CINEMANEWS

भुवन र अनमोल सँगै नाचे

सिनेमा संसार संवाददाता
काठमाडौं
सोमबार ललितपुरको एक पार्टी प्यालेसमा पुग्दा चारैतिर बत्तीको झिलिमिली थियो। इशान लेखिएको ११ नम्बरको फुटबल ड्रेस लगाएर केही यूवा बलसँग खेल्दै थिए। त्यही विचमा उभिएका थिए, नायक अनमोल केसी उर्फ इशान खड्का। अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा क्याप्टेनमा समावेश एक गीतको छायांकनमा यस्तो माहोल देखिएको हो।
अनमोललाई फुटबलसँग खेलिरहेको देख्दा लाग्थ्यो, उनी हरि खड्काको प्रशिक्षणमा फुटबलसँग अभ्यस्त भएका छन्। कर्ली कर्ली बोलको गीतको छायांकनमा अनमोल केसी मात्र आकर्षण थिएनन्। यो गीतमा अनमोलका पिता तथा नायक भूवन केसीलाई पनि आफ्नै स्टाइलमा देख्न पाइनेछ। अनमोल र भूवनको साथमा नायिका निरुता सिंहको स्टाइलले दर्शकलाई मोहित बनाउनेछ।
मेलिना राई र एसडी योगीको स्वर रहेको गीतमा एसडीकै शब्द तथा संगीत छ। गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी थिइन्। रेनशा भन्दै थिइन्–‘गीत निकै नै मिठो छ। दर्शकले केही नयाँ स्वाद पाउनुहुने ।’
यता, छोरा अनमोल केसीसँग पर्दामा देखिन लागेको भूवन केसी कहिलेकाहीँ छोरातिर हेर्दै भन्थे– ‘मैले नाचेपछि अनमोल नर्भस देखिन थाल्यो।’ भूवनले यसो भन्दा अनमोल मुुसुक्क हाँस्थे मात्र।
भूवन केसी र अनमोल केसीको मजाकमा रमाइरहेकी नायिका निरुता सिंहलाई यो गीतमा नृत्य गर्दा बेग्लै आनन्द लागिरहेको थियो रे। माघ महिनाको जाडोमा रातभर छायांकन गर्दा पनि निरुता थाकेकी थिइनन्। उनी भन्दै थिइन्–‘यो गीत नेपाली सिनेमाका दर्शकका लागि एउटा बेग्लै स्वाद हुनेछ।’ आगामी फागूण १७ गतेबाट रिलिज हुन लागेको सिनेमामा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार र विल्सन विक्रम राई मुख्य भूमिकामा छन्। गीतको बिषयमा निर्माता समेत रहेका भूवनले भने– ‘इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा यो गीत पर्दामा आउनेछ। दर्शकका लागि अनमोल, म र निरुताको जोडी वेग्लै स्वाद हुने विश्वास लिएको छु।’
दिवाकर भट्टराइको निर्देशनमा तयार भएको सिनेमामा सुदिप बरालको छायांकन छ। गीत केही दिनमै रिलिज गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ।

Related Articles

Check Also
Close
Back to top button