सिनेमा संसार
काठमाडौं
अभिनेता दयाहाङ राईले पेन्सन पट्टालाई नेपाली समाजसँग गहिरोसँग जोडिएको कथा बताएका छन्। भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको माओत्से गुरुङ निर्देशित सिनेमाबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा दयाहाङले यसले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने बताए।
सिनेमामा लाहुरे परिवारसँग जोडिएको पात्रको भूमिका निर्वाह गरेका दयाहाङले आफ्नो वास्तविक जीवनमा भने लाहुरे परिवारसँग कुनै पारिवारिक सम्बन्ध नरहेको स्पष्ट पारे। तर छिमेक र नेपाली समाजमा लाहुरे परिवारका कथा आफूले नजिकबाट देखेको उनको भनाइ छ।
३०–४० वर्षअघिको नेपाली समाजमा पेन्सन पट्टाको छुट्टै महत्व रहेको दयाहाङले बताए। भूतपूर्व गोर्खालीले देश र समाजका लागि गरेको योगदानसँग जोडिएको पेन्सन र त्यसले परिवारमा पार्ने प्रभाव सिनेमाको महत्वपूर्ण पक्ष रहेको उनको भनाइ छ।
तर पेन्सन पट्टाको कथा पेन्सनमा मात्र सीमित छैन। हराएको पेन्सन पट्टा खोज्ने घटनामार्फत प्रेम, भावना, पारिवारिक सम्बन्ध र सामाजिक संरचनाका विभिन्न पक्षलाई कथामा समेटिएको दयाहाङले बताए। उनका अनुसार सिनेमाको कथा सरल रूपमा प्रस्तुत गरिए पनि यसले आम नेपाली समाजका विभिन्न मनोविज्ञानलाई समेटेको छ।
चरित्रमार्फत समाजलाई बुझ्ने अवसर पाएको बताउँदै दयाहाङले पेन्सन पट्टा हरेक वर्गका मानिसले बुझ्न सक्ने र आफ्नै घरको व्यथाजस्तो महसुस गर्न सक्ने कथा भएको बताए। यही सिनेमाबाट लेखनमा आफ्नो रुचि अझ बढेको उनले स्वीकारे। यद्यपि तत्काल निर्देशनमा जाने आँट भने नआएको उनको भनाइ छ।
सिनेमाका लेखक तथा निर्देशक माओत्से गुरुङले आमाको पेन्सन प्राप्त गर्न नसक्दा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्यालाई कथाको आधार बनाएका छन्। गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने पारिवारिक समस्या, सम्बन्धको उतारचढाव र सामाजिक परिवेशलाई सिनेमामा प्रस्तुत गरिएको छ।
गुरुङका अनुसार पेन्सन पट्टा कुनै एउटा परिवारको मात्र नभई आम समुदायको कथा हो। पेन्सनसँग जोडिएको समस्यालाई सिनेमामार्फत प्रस्तुत गर्ने सोचबाट कथा तयार भएको उनले बताए।
माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमामा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ र पञ्चसुब्बा गुरुङ दिलुलगायत कलाकारको अभिनय रहेको छ।
पोखराको ताङतिङ र आसपासका क्षेत्रमा छायांकन गरिएको पेन्सन पट्टा भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।




