CINEMAEVENTNEWS

पेन्सन पट्टामा लाहुरे परिवारको सम्बन्ध र विगतको कथा

सिनेमा संसार
काठमाडौं
लाहुरे जीवनसँग जोडिएको पारिवारिक सम्बन्ध, पहिचान र भावनात्मक द्वन्द्वलाई कथाको केन्द्रमा राखिएको सिनेमा पेन्सन पट्टाको ट्रेलर सार्वजनिक भएको छ। माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै कथाको विषयवस्तुलाई लिएर दर्शकमाझ चासो बढेको छ।
सिटी सेन्टरस्थित बिग मुभिजमा मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढेको देखिन्छ। परिवारको स्मरणबाटै ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्किएको पात्रमार्फत लाहुरे परम्पराले परिवार, सम्बन्ध र समाजमा पारेको प्रभावलाई प्रस्तुत गरिएको छ।
पेन्सनको अधिकारसँग जोडिएको खोजी क्रमशः पारिवारिक विगत, सम्बन्धको दूरी र पहिचानको प्रश्नतर्फ अघि बढेको ट्रेलरले देखाउँछ। लाहुरे जीवनसँग जोडिएको पेन्सन र प्रतिष्ठाभन्दा पर त्यससँग गाँसिएका पारिवारिक उतारचढाव तथा भावनात्मक पीडालाई सिनेमाले प्रस्तुत गर्ने संकेत ट्रेलरले गरेको छ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने पेन्सन पट्टाको ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। सिनेमामा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिच्छ्या गुरुङ, सोल गुरुङ, अनुषा राई, मनोज गुरुङ, मनिका गुरुङ र कुबिना गुरुङको अभिनय रहेको छ।
मीन कोन्मे गुरुङ सिकलेस, भोज बहादुर गुरुङ यूके, माया गुरुङ र सपना गुरुङ निर्माता रहेको सिनेमामा डिबी गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा छन्। सुशन प्रजापतिको छायांकन तथा सुरज तामुको कास्टिङ निर्देशन रहेको छ।
सिनेमाको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन्। निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। सुरज तामु र केर डी. कोइन्च लिनुच सह–लेखक रहेको सिनेमामा राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशक छन्।
पेन्सन पट्टालाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन्।

Related Articles

Back to top button