
सिनेमा संसार
काठमाडौं
एएनपी मिडिया हाउसद्वारा आयोजित बालबालिकाको डान्स रियालिटी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा डोटीकी उदिप्ती रावल विजेता घोषित भएकी छन्। उनले उपाधिसँगै नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्।
म्याग्दीकी सुप्रिया थापा फस्र्ट रनर्सअप बन्दै ६० हजार रुपैयाँ जितिन् भने सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेन्ड रनर्सअप हुँदै ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भइन्।
प्रतियोगितामा कालिकोटकी स्प्रीका शाही थर्ड, भक्तपुरकी जलादि खड्का फोर्थ तथा महोत्तरीकी श्रृयाना घिशिङ फिफ्थ रनर्सअप बनेका छन्। उनीहरूलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। साथै भोटिङ पार्टनर एभेन्टोज कम्पनीले सबै विजेतालाई थप १० हजार रुपैयाँ बराबरको शैक्षिक पुरस्कारसमेत प्रदान गरेको छ।
रियालिटी शोको ग्रान्ड फिनाले ख्यातिप्राप्त हास्यव्यंग्यकार, अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठ र नृत्य निर्देशक बसन्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नृत्य निर्देशक कमल राई तथा फिल्म सम्पादक तथा निर्देशक राजु शाह विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
हरेक आइतबार साँझ ६ बजे स्पेस फोर के टेलिभिजन र साँझ ७ बजे ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण हुँदै आएको यो रियालिटी शो २०८२ वैशाखदेखि सुरु भएको हो। देशभरका स्थानीय अडिसनमा करिब १८ सय बालबालिकाले भाग लिएको प्रतियोगितामा मेगा अडिसनबाट १ सय ८० जना छनोट भएका थिए। त्यसपछि क्रमशः टप ८०, टप ४० हुँदै ग्रान्ड प्रिमियरमा २३ जना पुगेका थिए। अन्ततः उत्कृष्ट ६ प्रतिस्पर्धीबीच ग्रान्ड फिनाले आयोजना गरिएको कार्यक्रमका निर्देशक तथा एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराए।
कार्यक्रम अभिनेत्री मिथिला शर्मा, अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना र नृत्य प्रतियोगिता छमछमीका विजेता सरोज प्रजाको निर्णायकत्वमा सम्पन्न भएको थियो। भोटिङ राउण्डमा अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, नृत्य निर्देशक बसन्त श्रेष्ठ, कमल राई, राजु शाह र कबिराज घहतराज अतिथि निर्णायकका रूपमा सहभागी थिए।
एएनपी मिडिया हाउसकी प्रशासन प्रमुख अनीता तामाङका अनुसार आगामी वर्ष २०८३ वैशाखदेखि नृत्यसँगै गायन विधा समेटेर नेशन्स गट ट्यालेन्टको अर्को संस्करणका लागि देशभर स्थानीय अडिसन सञ्चालन गरिनेछ।




