
सिनेमा संसार
काठमाडौं
जेनजी आन्दोलनको भाव, पीडा र देशप्रेम समेटिएको देशभक्तिपूर्ण गीत म नेपाली हुँ, मेरो देश नेपाल सार्वजनिक गरिएको छ।
लोकप्रिय सौन्दर्यविद् सुष्मा महराको शब्द तचनासँगै अभिनय रहेको गीत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा आन्दोलनमा ज्यान गुमाएकाहरूका परिवारका सदस्यहरू विशेष रूपमा उपस्थित थिए। सहभागीमध्ये अम्बिका विश्वकर्मा (उदयपुर) आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवन अगाडि आफ्ना श्रीमान् गुमाएकी हुन्। विष्णु बहादुर तामाङ (कीर्तिपुर) शहीद बुद्धि बहादुर तामाङका बुबा हुन् भने पार्वती अधिकारीले आन्दोलनमा आफ्ना छोरा गुमाएकी हुन्।
गीतमा सत्यराज आचार्यको स्वर, पुरुषोत्तम न्यौपानेको सङ्गीत र दीक्षित पौडेलको सङ्गीत संयोजन रहेको छ। भिडियो निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका हुन्। भिडियोमा एकातिर अधिकारका लागि सडकमा उत्रिएको जेनजी पुस्ताको संघर्ष र रगत बगेका मार्मिक दृश्य देखाइएको भने अर्कोतर्फ सत्ता सम्हालेका नेताहरू बन्द कोठामा कुर्सीको खेलमा व्यस्त देखिन्छन्। सडकमा छाडिएको रगतले लतपतिएको जुत्तालाई शक्तिशाली प्रतीकका रूपमा प्रयोग गरिएको छ। भिडियोमा महरा स्वयं शहीदकी आमाको भूमिकामा प्रस्तुत भएकी छन्, जसबाट सन्तान गुमाएकी आमाको वेदना देखाइएको छ।
भिडियोका परिकल्पनाकार उज्वल जंग शाहका अनुसार यो सिर्जना आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली मात्र नभई शहीदका सपना र वर्तमान व्यवस्थाबीचको दूरी सम्झाउने ऐतिहासिक दस्तावेज हो। आफू पनि जेनजी पुस्ताकी आमा भएको उल्लेख गर्दै गीतकार महराले देशमा ७२ जना शहीद हुनु सामान्य कुरा नभएको बताइन्। उनले शान्तिपूर्ण परिवर्तन खोज्ने युवामाथि गोली चलाइनु दुःखद भएको भन्दै युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेका बेला राजनीतिक नेतृत्व भने सत्ता संघर्षमै केन्द्रित रहेको आरोप लगाइन्। उनले २३ र २४ गतेका घटनाले आफूलाई गीत लेख्न प्रेरित गरेको पनि बताइन्।
कार्यक्रममा जेन जी आन्दोलनका तीन परिवारले राज्यले घोषणा गरेको सहयोगसमेत नपाएको गुनासो गर्दै पीडामा मल्हम लगाउनुको साटो उपेक्षा गरिएको बताए।
गीतको भिडियोको छायाङ्कन राजेश घिमिरे र सम्पादन सतिश श्रेष्ठले गरेका छन्। गीतले विविधतामा एकता कायम गर्दै देश सुधारका लागि सबै नेपाली एकजुट हुनुपर्ने सन्देश दिएको छ।




