
सिनेमा संसार
काठमाडौं
राजधानीमा आज शुक्रवारबाट १४औँ संस्करणको नेपाल अफ्रिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०२६ सुरु भएको छ।
चलचित्र विकास बोर्ड परिसरमा शुरु भएको महोत्सवको बोर्डका अध्यक्ष दिनेश डिसी र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शुभारम्भ गरे। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा आरम्भ महोत्सव आगामी सोमबारसम्म चल्नेछ।
महोत्सव निर्देशक डब्बु क्षेत्रीले महोत्सवमा नेपालसहित २० देशका ४३ सिनेमा प्रदर्शन गरिने जानकारी गराए। उनका अनुसार महोत्सवमा सिनेमा प्रदर्शनसँगै अन्तरक्रिया कार्यक्रम, नृत्य कार्यशाला, कला प्रदर्शनी तथा मास्टर क्लाससमेत सञ्चालन गरिनेछ। महोत्सवमा १० जना विदेशी सिनेमाकर्मीको सहभागिता रहेको छ।
महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अफ्रिकासहित विभिन्न देशलाई यो महोत्सवले सिनेमामार्फत जोड्दै आएको बताए। बोर्डले विभिन्न सिपमूलक प्रशिक्षण दिँदै आएको जानकारी गराउँदै डिसीले बोर्डको सहकार्यमा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा पनि यस पटक सिनेमा नृत्य कार्यशाला आयोजना हुनु सुखद पक्ष भएको बताए। कुलपति हार्तम्छालीले महोत्सवले विश्वभरका कलाकर्मीबिच ज्ञान आदानप्रदानको अवसर सिर्जना गरेको बताए। कार्यक्रममा महोत्सवको सिनेमा प्रदर्शक एवम् नेपाल चलचित्र संघ काठमाडौँ उपत्यकाका सभापति दुर्गालाल प्रधानलाई सिनेमाकर्मी रजत सम्मानबाट सम्मानित गरिएको थियो भने नृत्य कोरियोग्राफर सन्दीप भुजेललाई सम्मान गरिएको थियो।




