BOLLYWOODHOLLYWOODNEWS

थाइल्याण्डमा जारी मिस युनिभर्स प्रतियोगिता विवादमा

सिनेमा संसार

काठमाडौं 
थाइल्याण्डको बैंककमा नोभेम्बर २ देखि सुरु भएको मिस युनिभर्सको ७४ औं संस्करण अहिले विवादमा तानिएको छ। ग्रान्ड फिनाले नजिकिँदै गर्दा एक प्रतिस्पर्धी र थाइल्याण्डका राष्ट्रिय निर्देशकबीचको भनाभनले प्रतियोगिता नै विवादित बनेको हो।

हालै सम्पन्न स्यासिङ समारोहमा मिस युनिभर्स थाइल्याण्डका राष्ट्रिय निर्देशक नवात इटसाराग्रिसिलले मेक्सिकोकी प्रतिस्पर्धी फातिमा बोसलाई ‘मूर्ख मान्छे’ भन्दै सार्वजनिक रूपमा गाली गरेपछि विवाद चर्किएको हो। विभिन्न डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण भइरहेको समारोहमा भनाभन सुरु भएपछि सुरक्षाकर्मीले बोसलाई हलबाट बाहिर निकाल्नुपरेको थियो।

सो घटनापछि फातिमा बोस निकै निराश देखिएकी थिइन्। उनलाई समर्थन जनाउँदै मिस युनिभर्स २०२४ की डेनमार्ककी भिक्टोरिया केजर थेइलभिग लगायत अन्य प्रतिस्पर्धीहरू पनि कार्यक्रम स्थलबाट बाहिरिएका थिए। आयोजक पक्षले बोसलाई प्रायोजक प्रवद्र्धनको छायांकनमा भाग नलिएको र थाइल्याण्डलाई आयोजकको रूपमा समर्थन नगरेको आरोप समेत लगाएको थियो।

यस घटनापछि मिस जर्मनी २०२५ डायना फास्टले सामाजिक सञ्जालमार्फत एक तस्बिर साझा गर्दै आफूले प्रतियोगिता छोडेको र आगामी दिनमा थाइल्याण्ड भ्रमण नगर्ने घोषणा गरेकी छिन्।

त्यसैगरी मिस युनिभर्स अर्गनाइजेसनका अध्यक्ष राउल रोचा कान्टुले उक्त घटनामा निर्देशक इटसाराग्रिसिलको व्यवहारलाई महिलाप्रति अनादरपूर्ण र अमर्यादित भन्दै कडा आलोचना गरेका छन्। अर्गनाइजेसनले उनलाई प्रतियोगितासम्बन्धी आगामी सबै गतिविधिमा सहभागिता निषेध गर्ने निर्णय पनि गरेको छ।

यता, निर्देशक इटसाराग्रिसिलले आफू दबाबमा रहेको र ‘मूर्ख’ भन्न खोजेको होइन, ‘क्षति’ भन्न खोजिएको भन्दै सफाइ दिएका छन्।

नोभेम्बर २१ मा बैंककमा हुने फिनालेअघि नै विवादले प्रतियोगिताको वातावरण तनावपूर्ण बनेको छ। विश्वका विभिन्न देशका सुन्दरीहरू सहभागी यस प्रतियोगितामा नेपालबाट मिस युनिभर्स नेपाल सान्या अधिकरी प्रतिस्पर्धा गरिरहेकी छन्।

Related Articles

Back to top button