परानको ट्रेलरमा सन्तानको सामीप्य खोज्दै बाबुको पीडा

सिनेमा संसार
काठमाडौं
कार्तिक १४ गते रिलिज हुने सिनेमा परानको ट्रेलर काठमाडौँको रञ्जना हलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
ट्रेलरले नेपाली समाजको पारिवारिक कथा उजागर गर्ने सङ्केत गरेको छ। विशेषगरी जीवनको उत्तरार्धमा आफ्ना सन्तानको माया र सामीप्य खोजिरहेका एक बाबुको पीडामाथि केन्द्रित कथा यसमा प्रस्तुत गरिएको देखिन्छ।
बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने आकांक्षा र सन्तानले आफ्नै जीवनका लक्ष्य रोज्दा उत्पन्न हुने भावनात्मक दूरीलाई सिनेमाको मूल विषयवस्तु बनाइएको छ।
सिनेमाको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाह देखिएका छन्। नेपाली सिनेजगतमा अभिनयका भीष्मपितामाका रूपमा परिचित शाहले लामो समयपछि शीर्ष भूमिका निभाएकाले परानप्रति दर्शकमाझ विशेष उत्सुकता देखिएको छ।
पारिवारिक मूल्य र सम्बन्धमा आधारित भएकाले यो सिनेमा मुख्यतः पारिवारिक दर्शकलाई लक्षित गरिएको छ। ट्रेलरको भावनात्मक प्रस्तुतिले पनि त्यही वर्गका दर्शकलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ।
डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेको यो सिनेमा आचार्यकै कथामा तयार पारिएको हो। पटकथा र संवाद यम थापाले लेखेका छन्। देशकै प्रतिष्ठित व्यवसायिक समूह गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको बाइस्कोप सिनेमा प्रा.लि.ले यस सिनेमा निर्माण गरेको हो।
परानमा नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।




