
सिनेमा संसार संवाददाता
काठमाडौं
हलिवुडका दिग्गज निर्देशक, अभिनेता एवम् स्वतन्त्र सिनेमाका अग्रणी रवर्ट रेडफोर्डको ८९ वर्षको उमेरमा निधन भएको छ। अमेरिकाको युटाह राज्यको सनडान्सस्थित घरमा निदाएको बेलामा उनको निधन भएको उनको प्रचारक सिन्डी बर्गरले जनाएका छन्। रेडफोर्ड सनडान्सको पहाडमा रहेको आफ्नै घरमा परिवार र प्रियजनहरूको बीचमा शान्तिपूर्वक निधन भएको हो।
सन् १९३६ मा अमेरिकाको क्यालिफोर्नियास्थित सान्टा मोनिकामा जन्मिएका रेडफोर्ड हलिवुडमा गोल्डेन ब्वाई को रूपमा चिनिन्थे। सुनौलो कपाल, निलो आँखा र आकर्षक व्यक्तित्वले उनलाई १९६०–७० को दशकको अमेरिकन आदर्श नायकको प्रतीक बनाएको थियो। प्रायः रोम्यान्टिक हिरो, आदर्शवादी पत्रकार वा विद्रोही पात्रमा देखिने उनले दर्शकमाझ छुट्टै छवि निर्माण गरेका थिए।
छ दशक लामो अभिनय र निर्देशन यात्रामा उनले दि स्टिङ, अल द प्रेसिडेन्ट्स मेन, थ्री डेज अफ द कन्डोर, दि वे वी वेयर जस्ता चर्चित फिल्ममा अभिनय गरे। सन् १९८१ मा ओर्डिनरी पिपल निर्देशन गर्दै एकेडेमी अवार्ड जितेका रेडफोर्डले क्विज शो, द हर्स व्हिस्परर र ए रिभर रनस थ्रु इट जस्ता फिल्म पनि निर्देशन गरेका थिए।उनको दीर्घकालीन योगदान भनेको सनडान्स इन्स्टिच्युट र सनडान्स फिल्म फेस्टिभलको स्थापना हो, जसले स्वतन्त्र सिनेमाका लागि अन्तर्राष्ट्रिय स्तरको मञ्च प्रदान गर्यो। यसले पल थोमस एन्डरसन, क्वेन्टिन टारन्टिनो, ड्यारन एरोनोस्कीजस्ता नयाँ पुस्ताका निर्देशकलाई उदाउने अवसर दिएको छ।
सिड्नी विश्वविद्यालयका एसोसिएट प्रोफेसर ब्रुस आइज्याक्सका अनुसार, रेडफोर्ड क्लासिकल हलिवुड युगका अन्तिम महान कलाकार मात्र नभई उद्योगका शान्त क्रान्तिकारी पनि थिए। बच क्यासिडी एन्ड द सनडान्स किड बाट नाम कमाएका उनले दि ओल्ड म्यान एन्ड द गन (२०१८) लाई आफ्नो अन्तिम फिल्म बनाए।