
सिनेमा संसार
काठमाडौं
विवाहित नारीहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको चौथो संस्करणको घोषणा गरिएको छ।
आइतवार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिले मिसेस् नेपाल वल्र्ड २०२५ को आवेदन खुला गर्दैै प्रतियोगिताको अडिसन र अन्तिम स्पर्धाको मितिसमेत सार्वजनिक गरेको हो। प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ।
अडिसनमा छनोट भएकाहरूलाई असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने अन्तिम प्रतियोगितामा उतारिनेछ।पत्रकार सम्मेलनका प्रमुख अतिथि हास्य अभिनेता केदार घिमिरे (माग्ने बूढा) ले मिसेस नेपाल विवाहित महिलाका लागि निकै राम्रो अवसर रहेको चर्चा गर्दै यसमा भाग लिनका लागि घर परिवारको सहयोगका साथै प्रतियोगी आफैँ पोख्त हुनुपर्ने बताए। उनले सन् २०२३ की एमएस नेपाल सीता सुवेदी चौथो स्टेजको क्यान्सरबाट जुध्दै अँएकोमा ५१ हजार रुपियाँ सहयोग गर्दै अन्य व्यक्तिलाई समेत सहयोगको आह्वान गरे।
प्रतियोगिताकी गुडविल एम्बेस्डर तथा अभिनेत्री दीपिका प्रसाईंले मिसेस नेपाल केवल सौन्दर्य प्रतियोगिता मात्र नभई महिलालाई आत्मविश्वासका साथ अगाडि बढ्न हौसला दिने मञ्च रहेको जनाउँदै त्यसका लागि महिला स्वयम् आत्मविश्वासका साथ अघि बढनुपर्ने बताइन्। मिसेस नेपाल वल्र्ड २०२४ डेनिला कार्कीले मिसेस् नेपालमा भाग लिएर विजेता बनेपछि आफूले धेरैलाई केही न केही ढंगले सकारात्मक रूपमा प्रभावित पार्न सकेको जनाउँदै विवाहपछि पनि आफूलाई अगाडि बढाउन चाहने महिलाका लागि यो निकै राम्रो अवसर रहेकोले सहभागी हुन आग्रह गरिन्। एमएस नेपाल इन्टरनेसनल २०२४ रेश्मा घिमिरेले आफू एकल आमा र लायन्स क्लबको महत्वपूर्ण भूमिकामा समेत आबद्ध भएको जनाउँदै आफूमा भएको इच्छा उजागर गर्दै अगाडि बढ्नका लागि प्रतियोगिता निकै उपयुक्त रहेको र विजेता भइसकेपछि विभिन्न अवसर आएको बताइन्। मिसेस नेपाल इन्टरनेसनल २०२४ सुयशा राउतले विवाहित महिलाका लागि सो प्रतियोगिता व्यक्तित्व विकास तथा सामाजिक हिसाबमा अघि बढ्ने राम्रो माध्यम भएको बताइन्।
रिबन इन्टरटेन्मेन्टकी बोर्ड डाइरेक्टर आरुषी अग्रवालले मिसेस नेपाल वल्र्ड बाहिरी सौन्दर्यको प्याजेन्ट नभई उनीहरूको सपना साकार पार्ने माध्यम समेत रहेको बताइन्। आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले यस वर्षको प्रतियोगिता केवल सौन्दर्यको प्रदर्शन मात्र नभई, महिलाहरूको नेतृत्व, आत्मविश्वास, र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने गहिरो अभियानका रूपमा अघि सारिएको बताए। कोरियोग्राफर आश्विनीकान्त झाले मिसेस नेपाल वल्र्डलाई केवल राष्ट्रिय सीमाभित्र सीमित नराखी अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन विशेष योजना बनाइएको बताए। उनले एमएस नेपाल २०२३ सिता सुवेदी क्यान्सर रोगसँग लड्दै आएको थाहा पाएपछि उनको साथ र सहयोगका लागि सदैव तत्पर रहेको बताए।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुनको लागि उचाइ र तौलको कुनै मापदण्ड राखिएको छैन। त। इच्छुक प्रतियोगी न्यूनतम एसएलसी उत्तीर्ण हुनुपर्नेछ भने विवाहित महिला मात्र नभई एकल महिलाले पनि सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा कोरियोग्राफर आश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेल, सहायक कोरियोग्राफर आईना गजुरेल रहने छन्। प्रतियोगिताको समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन्। विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। मिसेस नेपाल वल्र्डको उपाधि २०२१ मा दिक्षा केसी, २०२३ मा पृथ्वीया थापा र २०२४ मा डेनिला कार्कीले चुमेका थिए। पृथ्वीया थापाले मिसेस वल्र्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै ह्युम्यानिटेरियन अवार्ड प्राप्त गरेकी थिइन्।