MUSICNEWS

गीतकार टेक तामाङको गीतमय साँझ राजधानीमा सम्पन्न

सिनेमा संसार
काठमाडौं

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हालै आयोजित एक विशेष सांगीतिक कार्यक्रममा गीतकार टेक तामाङका लोकप्रिय गीतहरू प्रस्तुत गरियो। गीतकार संघ नेपालले आयोजना गरेको गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२मा झण्डै डेढ दर्जन गायक/गायिकाहरूले २५ जना वाद्यवादकहरूको साथमा तामाङद्वारा सिर्जित गीतहरू प्रत्यक्ष गाएका थिए।

कार्यक्रम संघका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षतामा र प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। संगीतप्रेमीहरूको उल्लेख्य उपस्थिति देखिएपछि हलको बाहिर पनि एलईडी स्क्रीन राखेर कार्यक्रम प्रत्यक्ष देखाइएको थियो।

साँझमा गीतकार तामाङले लेखेका १७ नयाँ र पुराना गीतहरू प्रस्तुत गरिए, जसमा नेपाल मेरो घर किरण प्रधानले, आमा शिव परियारले मन पर्छ संगीता रानाले, तिमीलाई पराईको र अँगालोमा बेरिरहुँ अन्जु पन्तलेअल्झिरह्यो याद प्रदीपराज पाण्डेले, स्वर्ग झैँ सैलुङ प्रल्हाद तिमिल्सिनाले, लगायत थुप्रै गीतहरूले दर्शकलाई भावविह्वल बनाएका थिए। दर्शकदीर्घाबाट बारम्बार ‘वान्स मोर’ को माग सुनिएको थियो।

संगीत संयोजनमा अशोक कुमार राई रहेका थिए भने वाद्यवादनमा मनोहर सुनाम (भ्वाइलिन), शिला बहादुर मोक्तान (किबोर्ड), भरत बुढाथोकी (तालवादन) लगायत थुप्रै अनुभवी कलाकारहरूको सहभागिता थियो।

भीमबहादुर फूलमाया स्मृति पुस्तकालयको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा गीतकार तामाङले आफ्नो २०५० सालदेखि सुरु भएको सांगीतिक यात्रालाई यो साँझले नयाँ उचाइ दिएको बताए। प्रमुख अतिथि बैरागी काइँलाले यो साँझलाई ऐतिहासिक बताउँदै गीतकारको योगदानको सराहना गरे।

कार्यक्रमको संचालन सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका थिए। सोही अवसरमा गीतकार तामाङको सोल्टिनी र माथि माथि लेकमाबोलका गीतहरूको भिडियो समेत सार्वजनिक गरियो।

Related Articles

Back to top button