NEWS

राता मकैको जन्मदिनमा कलाकार र पत्रकार सम्मानित

सिनेमा संसार
काठमाडौं

लोकप्रिय हास्य कलाकार तथा गायक किरण केसी (राता मकै) ले आफ्नो ६७ औँ जन्मदिन विभिन्न कलाकार, पत्रकार तथा समाजसेवीलाई सम्मान गरेर मनाएका छन्।

स्व. हजुरबुबा बडा हाकिम भोजराज केसी, स्व. हजुरआमा हृदय कुमारी केसी, स्व. बुबा लेफ्टिनेन्ट कर्णेल दुर्गा बहादुर केसी र स्व. आमा इन्द्र कुमारी केसीको सम्झनामा आयोजित समारोहमा लेखक निर्देशक तथा हास्य कलाकारहरू कमलकान्त मैनाली, सविता गुरुङ र सुशीला निरौला, पत्रकारद्वय राजन घिमिरे र शारदा थापा, सञ्चारकर्मी तथा कलाकार शिरोमणि दवाडी, निर्देशक तथा कलाकार राजशरण बस्नेत, समाजसेवी प्यारा सिंह न्यौपाने र श्रीनेहा पोखरेललाई नगदसहित सम्मान गरेका हुन्। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा ख्यातिप्राप्त हास्यव्यङ्ग्य अभिनेता मदनकृष्ण श्रेष्ठ, अतिथिहरू चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक प्रकाश सायमी र कलाकार किरण केसीलगायतले सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै किरणले १२ वर्षदेखि आफ्नै क्षेत्रमा योगदान गर्ने कलाकार तथा पत्रकारलाई नगदसहित सम्मान गर्दै आएको बताए। ‘मैले मेरो जन्मदिन आफ्नै परिवारका साथ एउटा कोठामा मनाउन पनि सक्थेँ, तर पनि आफ्नै क्षेत्रका व्यक्तिहरूका साथ खुशी बाँडेर मनाउने निधो गरे’ कलाकार केसीले कार्यक्रममा भने ‘मलाई मेरो श्रीमती सीता केसीले तपाईंकै क्षेत्रका व्यक्तिहरूलाई केही गर्नुस् न भनेर सल्लाह दिइन्। अनि मैले यसरी आफ्ना स्वर्गीय हजुरबुवा हजुरआमा र आमा बुवाको नाममा यो सम्मान स्थापना गरेर यसरी मनाउन थालेको हुँ। आमा बुवा स्वर्गमा आनन्दले बस्नु होला, यहाँ छोराले राम्रो काम गरिरहेको छ।’

कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ, अतिथि दिनेश डिसीलगायतले किरणलाई जन्मदिनको शुभ कामना दिएका थिए। मनोरञ्जनसहित अगाडि बढेको कार्यक्रममा द भ्वाइसका विजेता प्रोसेस पाण्डेले उकाली ओराली गर्दै र धेरै माया दिँदा रैछन् बोलका गीत प्रस्तुत गरेका थिए। उनले प्रधानमन्त्री केपी शर्मँ ओली, हास्य कलाकार हरिवंश आचार्य, अभिनेता जय किसन बस्नेत लगायतको क्यारिकेचरसमेत गरेर मनोरञ्जन प्रदान गरेका थिए। त्यस्तै हास्यव्यङ्ग्य कलाकार तथा गायक यमन श्रेष्ठले आफ्ना पिता मदनकृष्णको शब्द र आफ्नो संगीत रहेको गीत मनमा पापको म पनि बोलको भजन गाएका थिए भने देवेन्द्र सिंहले बेहुली बोलको गीत गाएका थिए।किरणले १२ वर्षदेखि हरेक असार १५ गते आफ्नो जन्मदिन पारेर दही चिउरा खुवाउँदै कलाकार, पत्रकार र समाजसेवीलाई सम्मान गर्दै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button