
सिनेमा संसार
काठमाडौं
हालै प्रदर्शन भएको फिल्म ऊनको स्वीटरका सबै गीतहरू युट्युबमा करोडभन्दा बढी पटक हेरिएका छन्।सामाजिक सञ्जालहरुमा लोकप्रिय भएसंगै युट्युबमा पनि अत्याधिक लोकप्रिय भएका छन्। फिल्मको प्रचार–प्रसार र दर्शकबीच फैलिएको सकारात्मकवर्ड अफ माउथ मा संगीतको ठूलो भूमिका रहेको देखिन्छ।
विशेष गरेर हालै रिलीज भएको चाइनेजो जिन्दगानीमा गीतले करोडौं भ्यूज प्राप्त गरेपछि सम्पूर्ण गीतहरू यस्ता दर्शक संख्यामा पुगेका हुन्।अहिलेसम्म फूलहरू मुस्काउँछन् गीतलाई २ करोड १० लाख भ्यूज, मखमली र काफ्ले लाई १ करोड ३० लाखभन्दा बढी भ्यूज, र चाइनेजो जिन्दगानीमा लाई १ करोडभन्दा बढी भ्यूज मिलिसकेको छ।
फिल्मका निर्माता कम्पनी आर्टमाण्डुले यो सफलताप्रति दर्शकहरूसंग आभार व्यक्त गर्दै विज्ञप्तिमार्फत धन्यवाद दिएको छ। जसमा भनिएको छ हामी हाम्रा दर्शक र श्रोताहरूप्रति हार्दिक कृतज्ञ छौ।
यस सफलताले भविष्यमा थप चुनौती र प्रेरणा दिएको पनि कम्पनीले जनाएका छन्। यो फिल्म २०८२ सालको सबैभन्दा बढी कमाउने घरेलु फिल्मको रूपमा स्थापित भएको छ।
नेपाल बाहेक, यो फिल्म अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप र मध्यपूर्वका देशहरूमा पनि प्रदर्शन भइरहेको छ। फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलले मुख्य भूमिका निर्वाह गरेका छन्।