चित्रकलामा मेलुङ: धार्मिक, प्राकृतिक र सांस्कृतिक सौन्दर्यको अभिव्यक्ति

सिनेमा संसार
चित्रकलामार्फत धार्मिक, प्राकृतिक एवम् सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोलखाको मेलुङ गाउँपालिकाले क्यान्भासमा मेलुङ– २०८२ चित्रकला प्रदर्शनी आयोजना गरेको छ।
प्रदर्शनीमा मेलुङ गाउँपालिकाका विभिन्न स्थानमा पुगेर १५ जना कलाकारले तयार पारेका १८ चित्रकला राखिएको थियो। मेलुङ गाउँपालिका भित्रका गुम्बा, मन्दिर, कृषि, जीवनशैली, संस्कृति र पर्यटकीय स्थललाई कलात्मक ढंगमा उतारिएको क्यान्भासमा मेलुङ– २०८२ को आयोजना मेलुङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा गरेको र त्यसको व्यवस्थापन चरिकोट मिडिया फाउण्डेसनको रहेको अध्यक्ष जीवन लामाले बताए।
मेलुङ गाउँपालिकामा प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा धेरै पर्यटकीय स्थल रहेको तथा मेलुङको जीवनशैली अध्येताका लागि महत्वपूर्ण रहेकोले यी विषयलाई चित्रकलामार्फत प्रस्तुत गर्दा त्यसले छुट्टै प्रभाव पार्न सकेको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले बताए। गाउँपालिकाको नवनिर्मित भवनमा मेलुङको मौलिकता झल्किने कला संग्रहालय स्थापना गर्ने योजना पालिकाको रहेको अध्यक्ष तामाङले बताए।
चित्रकलाको संयोजन कलाकार बिक्रम तामाङले गरेका थिए। प्रदर्शनी सदरमुकाम चरिकोटमा पनि आयोजना गरिएको थियो। कलाकार बिक्रम तामाङको टिमले काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौंका विभिन्न स्थान तथा भीमेश्वर नगरपालिकाको सहयोगमा दोलखा सदरमुकाम चरिकोट र पुरानो बजारको भित्तामा समेत कला, संस्कृति, पर्यटकीय स्थल र जीवनशैली झल्कने विभिन्न प्रकारका चित्र बनाएको छ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले राजधानी केन्द्रित कलालाई अब गाउँ–गाउँसम्म पु¥याउने अभियानमा लागेको बताए।मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङको अध्यक्षता तथा उपकुलपति लालकाजी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटनमा उपाध्यक्ष गायत्री आचार्य, राष्ट्रिय ललितकला संघका अध्यक्ष एनबी गुरुङ, गाउँपालिकाका प्रवक्ता नवराज खड्का र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरेराम चापागाईंले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
 
				 
					 
					 
					




 
					
प्रतिक्रिया