
सिनेमा संसार
काठमाडौं
पहलगाम आतंकी आक्रमणपछि भारतले पाकिस्तानी कलाकारहरूलाई फिल्म, सामाजिक सञ्जाल र युट्युबबाट प्रतिबन्धित गरेको छ। जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानी कलाकारमाथि पनि कडा कदम चालेको छ। जसको असर अब सांस्कृतिक क्षेत्रमा पनि देखिन थालेको छ। पाकिस्तानी कलाकारहरूलाई बलिउडमा काम गर्न प्रतिबन्ध लगाएको भारतले उनीहरुको सामाजिक सञ्जालका खाताहरु पनि भारतीय प्रयोगकर्ताहरूका लागि बन्द गरेको छ। यसका साथै पाकिस्तानका प्रमुख युट्युब च्यानलहरूलाई पनि भारतमा ब्लक गरिएको छ।बुधबारदेखि माहिरा खान, हानिया आमिर, अली जफर, सजल अली, माया अली, आयजा खान, इकरा अजीज र सनम सईदजस्ता चर्चित पाकिस्तानी कलाकारहरूको सामाजिक संजालहरु भारतमा उपलब्ध नभएको र कानुनी अनुरोधका कारण सामग्री सीमित गरिएको बताईएको छ। यद्यपि, फवाद खान, मावरा होकेन, युमना जैदी, सबा कमर, महविश हयात, वहाज अली र उरवा होकेनजस्ता केही कलाकारहरूको खाता भने भारतमा अझै चलिरहेको छ जसले गर्दा पाकिस्तानी कलाकारहरुमाथि यो प्रतिबन्ध आंशिक मात्र हो कि भन्ने प्रश्न पनि खडा गरेको छ। भारतको गृह मन्त्रालयको सिफारिसमा भारतले डिजिटल हम टिभि एआरवाई डिजिटल लगायत चर्चित १६ वटा पाकिस्तानी युट्युब च्यानलहरूमाथि पनि प्रतिबन्ध लगाएको छ। भारतले ती च्यानलहरूले भारत र भारतीय सेनाविरुद्ध भडकाउ, साम्प्रदायिक र झुटा सामग्री फैलाएको आरोप छ। यससंगै बलिउड फिल्मबाट पाकिस्तानी कलाकारहरु पनि हटाइएका छन्। फवाद खानको बलिउड कमब्याक फिल्म अबीर गुलाल अब भारतमा रिलिज नहुने निश्चित भएको छ। त्यस्तै हानिया आमिरलाई पनि दिलजीत दोसांझको फिल्म सरदार ३ बाट हटाइएको छ। त्यस्तै फिल्म फेडेरेसन अफ वेस्टर्न सिने इम्प्लोइज ले सरकारलाई पत्र लेख्दै जोसुकैले पनि पाकिस्तानी कलाकारहरूसँग काम गरेमा उसमाथि देशद्रोहको मुद्दा लाग्ने र भारतीय फिल्म उद्योगबाट निष्कासन गरिने चेतावनी दिएको छ। भारतले पाकिस्तानी कलाकारहरुमाथि लगाएको प्रतिबन्धपछि पाकिस्तानी कलाकारहरूले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिईरहेका छन्।
भारतले पाकिस्तानी कलाकारमाथि लगाएको यो प्रतिबन्ध पहिलो पटक भने होईन्। सन् २०१६ मा उरी हमलापछि नै भारतले पाकिस्तानी कलाकारहरूमाथि काम गर्न प्रतिबन्ध लगाएको थियो। तर सन् २०२३ मा बम्बे हाईकोर्टले यस्तो प्रतिबन्धलाई कलाकारहरूको अधिकारविरुद्ध भन्दै याचिका खारेज गरिदिएको थियो। त्यसपछि केही पाकिस्तानी कलाकारहरू पुनः हिन्दी सिनेमामा देखिन थालेका थिए।तर पहलगाममा भएको पछिल्लो आतंकवादी घटनापछि भारतले फेरि कडा नीति अपनाएको छ जसले गर्दा दुई देशको युद्धको सिकार भने निर्दोष कलाकार भईरहेका छन्।