CINEMANEWS

परानले ३० हलमा मनायो ५१औं दिन

कमायो १८ करोड

सिनेमा संसार
काठमाडौं
बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमा परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ। सो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गरेको छ। सिनेमाका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा बितरण गरिएको हो।
पवित्र समाजसेवा नेपाल आश्रमकी सन्चालिका दिक्षा चापागाईंले परान टिमलाई धन्यवाद दिइन्। उनले केहि साता अघि आफ्ना आश्रममा आश्रित बालबालिकालाई परान देखाएकी थिइन्। चापागाईंले छोराछोरी र आमाबुबा प्रतिको प्रेमलाई सिनेमाले निकै मिठो ढंगबाट प्रस्तुत गरेकाले पनि उनले परान फिल्म देखाएकी बताएन्। सिनेमाका निर्देशक दीपकप्रसाद आचार्यले यो मायाले आफूलाई थप जिम्मेवारी बनाएको बताए।
सिनेमामा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङलगायतको अभिनय छ।
परान अझ ैपनि देशभरका ३० हाराहारी हलमा प्रदर्शन भइरहेको छ। शनिबार ३० बढी शो दिइएको परानले आइतबार केहि कम हल पाएको छ। यद्यपी कतिपय हलमा अहिले पनि हाउसफुलका साथ प्रदर्शन भइरहेको छ। शनिबार ललितपुरको लबिम मलमा रहेको सिनेमा हल हाउसफुल रह्यो। साथै पश्चिमका केहि हलमा पनि दर्शकको राम्रो उपस्थिती थियो। उपत्यकाका भक्तपुर, चाबहिल, गोंगबु, नयाँबसपार्क, नयाँ बानेश्वरमा रहेका सिनेमा हलमा दर्शकको संख्या राम्रो छ। यस्तै उपत्यकाबाहिर नेपालगन्ज, दाङ, बुटवल, चितवन, इटहरीजस्ता शहरमा पनि दर्शकको संख्या राम्रो देखिन्छ।
सिनेमाका निर्माता रन्जित आचार्यले परानले ५१ दिन पुरा गर्दा १८ करोड रुपियाँ ग्रस कलेक्सन गरेको जानकारी दिएका छन्। यो सँगै परान नेपाली सिनेमाको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो सिनेमासमेत बनेको छ।

Related Articles

Back to top button