
सिनेमा संसार
काठमाडौं
बलिउड अभिनेत्री तथा पूर्व मिस इण्डिया संगिता बिजलानीले हालै आफ्नो ६५औं जन्मदिन उत्साहपूर्वक मनाइन्। मुम्बईको बान्द्रामा आयोजना गरिएको विशेष पार्टीमा उनका नजिकका साथीभाइ र फिल्म क्षेत्रका चर्चित अनुहारहरूको बाक्लो उपस्थिति देखिएको थियो।
पार्टीमा सबैभन्दा बढी ध्यान तान्ने व्यक्ति भनेका थिए उनका पूर्व प्रेमी सलमान खान। व्यस्त समयतालिका हुँदाहुँदै पनि सलमानले संगितालाई जन्मदिनको शुभकामना दिन पार्टीमा उपस्थिति जनाएका थिए। उनी आफ्ना सुरक्षा टोलीसहित पार्टीमा पुगेका थिए र मिडियासँग पोज पनि दिएका थिए।
यद्यपि, युलिया भन्तुरसँग फोटो खिचाउँदा सलमान केही गम्भीर देखिएका थिए। तर, एक सानो बच्चासँग कुराकानी गरेपछि उनको मुड सहज देखिन थाल्यो। केही समय पार्टीमा बसेपछि उनी बाहिरिएका थिए।सलमानले संगितालाई शुभकामना दिन आएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीहरूबीच अझै सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै धेरैले प्रशंसा गरेका छन्।
८० र ९० को दशकमा बलिउडको चर्चित जोडीका रूपमा चिनिएका सलमान खान र संगिता बिजलानीले सन् १९८६ मा डेटिङ सुरु गरेका थिए। उनीहरूको पहिलो भेट एउटा टेलिभिजन विज्ञापनको सेटमा भएको थियो। लगभग १० वर्षसम्म प्रेमसम्बन्धमा रहेका उनीहरूले विवाहको तयारी समेत गरेका थिए।संगिताले एक अन्तरवार्तामा खुलासा गरेअनुसार, हामीले विवाहको कार्ड छपाइसकेका थियौं, तर समारोह हुनु अघि सबै रोकियो।पछिल्लो समय संगिताले सन् १९९6 मा क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरेकी थिइन्। तर सन् २०१० मा उनीहरूको सम्बन्ध विच्छेद भयो।सम्बन्धको अन्त्यपछि पनि संगिता र सलमानबीच आत्मीयता र मित्रता कायम रहनु दर्शकका लागि विशेष लाग्ने विषय बनेको छ।संगितापछि सलमान खानको नाम अभिनेत्री सोमी अली, ऐश्वर्या राइ, क्याट्रिना कैफ, जरिन खान, डेजी शाह, युलिया भन्तुर आदि कलाकारहरूसँग जोडिँदै आएको छ।