
सिनेमा ससार
काठमाडौं
आगामी साउन २३ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा सिटामोल का तीन पोस्टर सार्वजनिक गरिएको छ। राजबहादुर सानेको निर्देशनमा निर्माण भइरहेको यस चलचित्रका पोस्टरहरूले कथाको भाव र पात्रहरूको चरित्र झल्काउँछन्।
पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपालीलाई भावनात्मक अभिव्यक्तिमा देखाइएको छ। दोस्रो पोस्टरमा भने सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखकको पात्रगत रूप प्रस्तुत गरिएको छ। तेस्रो पोस्टरमा सौगात मल्ललाई बैशाखीको सहारामा देखाइएको छ, जसले चलचित्रको कथावस्तुमा गम्भीरता र गहिरो सन्देश संकेत गर्छ।
सिनेमामा सौगात, बेनिशा, श्रीकृष्ण, जानुका र करणसँगै लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल तथा बाल कलाकार आराध्या राज्यलक्ष्मी डि.सी. लगायतको अभिनय रहेको छ। सिटामोल नेपाली समाजका गहिरा सन्दर्भ, परम्परागत सोच र त्यसले आम जनजीवनमा पारेको प्रभावबारे विम्बात्मक शैलीमा केन्द्रित रहेको बताइएको छ। तुल्सी देवी सिनेमा प्रालिको ब्यानर र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भइरहेको यो सिनेमा भूगोल कुमार कार्की र विकासराज जोशीले निर्माण गरेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा कथा प्रदीप भारद्वाज र निर्देशक राजबहादुर सानेको रहेको छ।संगीत बाबुल गिरीको, कोरियोग्राफी कविराज गहतराजको, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जनको, छायांकन दिव्य सुवेदीको तथा सम्पादन वन्दे प्रसादको रहेको छ। अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माताका रूपमा छन् भने गंगाराम श्रेष्ठ सह-निर्माताका रूपमा आवद्ध छन्।