
सिनेमा संसार
काठमाडौं
नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले सन् २०२६ को संस्करणका लागि आवेदन आह्वान गरेको छ। फेस्टिभल ५ देखि ९ मार्चसम्म आयोजना हुने छ।यस पटकको फेस्टिभलले अन्तर्राष्ट्रिय र नेपाली प्रतिस्पर्धाका लागि विभिन्न पुरस्कारहरू घोषणा गरेको छ। अन्तर्राष्ट्रिय भागमा उत्कृष्ट फिचर फिल्मलाई गौतम बुद्ध अवार्ड दिइनेछ जसमा १५ सय अमेरिकी डलर पुरस्कार र ट्रफी समावेश छ। उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई माउन्ट एभरेस्ट अवार्ड (१ हजार अमेरिकी डलर) र उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मलाई बागमती अवार्ड (५ सय अमेरिकी डलर) प्रदान गरिने छ।
सन् २०२५ देखि नयाँ विधा ‘एआई फिल्म’का लागि मञ्जुश्री अवार्ड समेत राखिएको छ, जसमा ५ सय अमेरिकी डलर पुरस्कार छ।नेपाली प्रतिस्पर्धामा उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ नगद र ट्रफी दिइनेछ भने उत्कृष्ट छोटो फिल्म र वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ।आवेदन फिल्मफ्री वेबमार्फत लिन सकिने जानकारी दिइएको छ। यो फेस्टिभल नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले वार्षिक रूपमा आयोजना गर्दै आएको छ।