BOLLYWOODHOLLYWOOD

 स्कुबा ड्राईभिङको क्रममा गायक जुबिन गर्गको सिंगापुरमा निधन

सिनेमा संसार

काठमाडौं 

भारतीय गायक जुबिन गर्गको स्कुबा ड्राईभिङको क्रममा सिंगापुरमा ५२ वर्षको उमेरमा निधन भएको छ। केही दिनअघि नर्थ ईस्ट इन्डिया फेस्टिभलमा भाग लिन सिंगापुर पुगेका उनले शनिबार प्रस्तुति दिने तालिका थियो। तर, सेप्टेम्बर १९ मा स्वास्थ्य समस्या देखिएपछि गार्डहरूले तत्काल उद्धार गरी सीपीआर दिएर सिंगापुर जनरल अस्पताल पुर्‍याएका थिए। तर पुनर्जीवित गर्ने प्रयास असफल भएपछि दिउँसो २:३० बजे आईसीयूमा चिकित्सकहरूले मृत घोषित गरेका थिए। महोत्सव आयोजकका प्रतिनिधि अनुजकुमार बोरुआले यसबारे जानकारी दिएका हुन्।

पोष्टमार्टमपछि उनको शव भारत ल्याइएको थियो। असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमा जुबिनको पार्थिव शरीर लिन दिल्ली विमानस्थल पुगेका थिए र शोक व्यक्त गरेका थिए।

जुबिन गर्गको जन्म १८ नोभेम्बर १९७२ मा आसामको तिनसुकिया जिल्लामा भएको हो। उनले २००६ मा इमरान हाशमी अभिनीत सिनेमा ग्याङ्स्टर को चर्चित गीत या अली बाट बलिउडमा ठूलो लोकप्रियता कमाएका थिए। त्यस्तै, उनले नेपाली भाषामा पनि फरर पछ्यौरी, झल्को तिम्रो, छोडेर जाँदैछौ जस्ता अनेक गीत गाएका थिए।

हिन्दी, नेपाली मात्र नभई बंगाली, अंग्रेजी, कन्नड, तमिल, तेलुगु, मराठी, मलयालम, उडिया, संस्कृत, सिन्धी, विष्णुप्रिया मणिपुरी, बोरो, कार्बी, खासी, मिसिङलगायत करिब ४० भाषा र बोलीमा उनले ३८ हजारभन्दा बढी गीत गाएका थिए। गर्गलाई असमकै सबैभन्दा बढी आम्दानी गर्ने गायक मानिन्थ्यो।

उनको पार्थिव शरीर दिल्लीबाट गुवाहाटी ल्याइएपछि लाखौँ प्रशंसक अन्तिम श्रद्धाञ्जली दिन सडकमा ओइरिएका थिए। गुवाहाटी विमानस्थलमा शव पुगेपछि पत्नी गरिमा सैकिया गर्ग पार्थिव शरीरलाई अंगालेर विक्षिप्त बनेकी थिइन्। शवलाई फूलहरूले सजाइएको एम्बुलेन्समार्फत अन्तिम यात्रा गराइयो।

जुबिनको निधनपछि असम मात्र नभई सम्पूर्ण भारतभर शोक छाएको छ। आइतबार साँझ उनको अन्तिम संस्कार गरिएको हो।

Related Articles

Back to top button